१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

हामीले नवयुवाको विश्वास जित्न सकेनौँः शंकर पोखरेल

१३ असोज, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देश भूराजनीतिक द्धन्द्धको चपेटामा परेको दाबी गर्नुभएको छ । महासचिव पोखरेलले राष्ट्रिय शक्तिलाई कमजोर बनाउने खेलबाट आफूलाई जोगाउन नसकिएको स्वीकार समेत गर्नुभएको छ ।

सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भनेर नवयुवालाई विश्वास दिलाउन नसक्दा राष्ट्रिय शक्तिलाई कमजोर बनाउने खेलबाट देशलाई जोगाउन नसकेको उहाँको भनाइ छ।

‘हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्‍यो। राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरूको खेलबाट हामीले आफूलाई जोगाउन सकेनौँ। हाम्रो देश पनि वैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो’, महासचिव पोखरेलले सोमबार बिहान सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हामीले सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरूको विश्वास जित्न सकेनौँ। उनीहरूको भावना र चाहनासँग नेपाली राजनीतिलाई जोड्न सकेनौँ।तर यसको अर्थ नेपालाई बहुलवाद, समावेशिता, लोकतान्त्रिक गणतन्त्र र स्वाधीनता एवम् स्वाभिमानको बाटोबाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन।’उनले अगाडि लेखेका छन्, ‘ढिलोचाँडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्कने छ र फर्काइने छ। नेकपा एमाले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि बढ्न प्रतिबद्ध छ र रहनेछ।’

जेनजीले भदौ २३ र २४ गते गरेको प्रदर्शन बृहत् आन्दोलनमा परिणत हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर मुलुकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ भने संसद् विघटन गरी आगामी फागुन २१ का लागि प्रतिनिधि सभा सदस्य निर्वाचन तोकिएको छ।

प्रकाशित मिति : September 29, 2025 at 11:12 am