२८ माघ २०८२, बुधबार | Thu Feb 12 2026

एमाले सचिवालयमा ओलीबाहेक कसैले गरेनन् केपीको बचाउ, विष्णु रिमाल पनि बोलेनन्

१२ असोज, काठमाडौँ । जेनजी विद्रोहपछि भएको नेकपा एमालेको पहिलो सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका तत्कालीन सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा कोही पनि नेता देखिएनन् ।

आइतबारको सचिवालय बैठकमा सहभागी एक जना नेताका अनुसार ओलीका लागि निकै आक्रामक ढंगले बैठकमा समर्थन प्रस्तुत गर्ने र बाहिरि जीवनमा ओलीको खुशीका लागि विभिन्न कार्यक्रम तयार गरेर कार्यान्व्यनमा लैजाने उपमहासचिव विष्णु रिमालले बैठकको एजेण्डाभित्र एक शब्द पनि बोल्नुभएन ।

रिमालले बैठकमा नबोलेकोमा अचम्म मान्दै ती नेताले दैनिकीसँग भन्नुभयो ‘पछिल्लो पटक ओलीसँग भन्दा पनि रिमालसँग नेताहरू डराउँथे । अध्यक्ष ओलीले रिमालको सल्लाहमा नेताहरूको बारेमा मूल्यांकन गर्ने र निर्णय लिने गर्नुहुन्थ्याे तर आइतबार ओलीको पक्षमा खुलेर एक जना उहाँले मात्रै भए पनि बोल्नु होला भनेको झन चुपचाप पो बस्नु भयो ।’

बैठकमा उपमहासचिव समेत रहनुभएका ओलीका मुख्य सल्लाहकार रिमालको प्रस्तुती कस्तो होला भन्ने धेरैको चासोको विषय थियो । ओलीले ज्यान जोगाउनका लागि प्रधानमन्त्रीबाट राजीनामा दिएर बालुवाटार छाडेर भाग्दा पनि रिमाललाई मात्र साथमा लिएर हेलिकप्टरबाट सुपारीटार उड्नुभएको थियो । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि साथै भए पनि ओलीले भने रिमाललाई मात्र हेलिकप्टरमा लिएर उड्नुभएकाे थियाे । यद्यपी संयोगले पौडेल, पोखरेल र ज्ञवालीले सभामुख निवासतर्फको गेटबाट भागेर बाच्न सफल हुनुभएको थियो ।

स्रोतका अनुसार बैठकमा उपस्थित भएर बोलेका १२ जना सचिवालय सदस्यले नेतृत्वको पुनर्गठनको समेत कुरा गर्दै गम्भीर ढंगले समिक्षा गरेर पार्टी अघि बढाउनुपर्ने बताएका छन । अध्यक्ष ओली र महासचिव पोखरेल बाहेका दुई नेताले नेतृत्वको पुनर्गठनको कुरा नगरे पनि गम्भीर समिक्षा नगरी पार्टी अघि बढाउन नसकिने बताएका थिए । असोजको १९ र २० गते बोलाइएको सचिवालय बैठकमा कडा रूपमा आज बोलेका मध्ये १२ जनाले केपी ओली र एमाले दुबैसँगै जान नसक्ने विषय राख्नेछन ।

ओली नेतृत्वको सरकाले २१ जना युवाको हत्या गरेको थियो भने त्यसपछि भएको विद्रोहमा थप ५३ जनाले ज्यान गुमाएका थिए । ओली सत्ताले संयमता गुमाउँदा दलहरूको हातबाट सत्ताको साँचो नै नागरिक सरकारको नाममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको हातमा पुगेको छ ।

आइतबारको बैठकमा सचिवालयका १७ जना नेता उपस्थिति थिए । १९ मध्ये एक सचिव टोपबहादुर रायमाझी केन्द्रीय कारागारमा छन भने अर्का एक सचिव पद्मा अर्याल बैठकमा उपस्थित हुनुभएन ।

यो पनि पढ्नुहोस्

पुष्पलाल, मदन र मनमोहन भन्दा बढी सुनिन र पुजिन केपीले गरेका प्रयत्न

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार २२:०१