एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, ओलीले स्थायी कमिटी बैठक फेस नगर्ने
१२ असोज, काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो सबै कमिटीबाट करिब बहुमत गुमाएकाले केन्द्रीय कमिटीबाट आफूलाई पुनः अध्यक्षमा अनुमोदन गराउने अभिप्रायले बैठक बोलाउनुभएको हो ।
आइतबार भक्तपुरको गुण्डुमा बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले असोज २७, २८ र २९ गते केन्द्रीय कमिटी बैठक काठमाडौँमा गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
जेन–जी आन्दोलनपछि पार्टीले पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाएको हो । एमालेले केन्द्रीय कमिटी बैठकअगाडि सचिवालय बैठक पनि बोलाएको छ । एमालेले पार्टी सचिवालय बैठक १९ र २० गते बोलाइएको छ।
ओलीले आइतबारको सचिवालयमा नेताहरूको खासै सकारात्मक प्रतिक्रिया पाउन सकेनन् । यद्यपी सचिवालयको अर्को बैठकमा नेताहरू बढी नै खुलेर बोल्ने छन । आइतबारको बैठकमा सचिवालयका १७ जना नेता उपस्थिति थिए । १९ मध्ये एक सचिव टोपबहादुर रायमाझी केन्द्रीय कारागारमा छन भने अर्का एक सचिव पद्मा अर्याल बैठकमा उपस्थित हुनुभएन ।

बैठकमा उपस्थित भएर बोलका १६ जना मध्ये ओली स्वयंले आत्मआलोचना र जेनजी विद्रोहमा निधन भएकाहरूप्रति श्रद्धाञ्जली दिन पनि तयार भएनन । महासचिव शंकर पोखरेलले घटना विवरण प्रस्तुत गरेको बैठकमा उपमहासचिव समेत रहेका ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले केही पनि बोलेनन भने बाँकी सबै नेताले नेतृत्व र घटनाको मसिनो समिक्षा गरेरमात्र पार्टी अघि बढ्नुपर्ने धारणा राखेका छन ।
स्थायी कमिटी फेस नगर्ने ओलीको नीति
विधान महाधिवेशन अघिदेखि स्थायी कमिटी छलेका अध्यक्ष ओलीले यस पटक पनि त्यसै गर्नेगरी निर्णय गरेका छन । ओली सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो सबै कमिटीबाट आफूले बहुमत प्राप्त गर्न कठिन हुने भएपछि केन्द्रीय कमिटी बैठकमा जाने र त्यहीबाट आफूलाई पुनः अनुमोदन गराउने तयारी गर्नुभएको छ । यद्यपी यस पटक ओलीका लागि त्यो निकै कठिन देखिएको छ ।
ओलीको पक्षमा उनी अझै महानछन र उनको विकल्प खोजिनु हुन्न भनेर पोलिटब्यूरो सदस्यद्धय महेश बस्नेत र सूर्यबहादुर थापा क्षेत्रीलेमात्र सामाजिक सञ्जाल मार्फत आफ्नो मत जाहेर गर्नुभएको छ । बाँकी बोलेका सबैजसो नेताले पार्टीको पुनर्गठन, नेतृत्वको हस्तान्तरण र पुस्तान्तरणको विषय उठान गरिरहनुभएको छ ।
प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार २१:०५








