ओलीलाई देश छाड्न नदिने जाँचबुझ आयोगको निर्णयमा एमालेको आपत्ति
१२ असोज, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले तीन वटा निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले तीनवटा निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले जाँचबुझ आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्न रोक्न गरेको निर्णयमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
यस्तो छ एमालेको तीन निर्णय
१. भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । यस अघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर अनि दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गंभीर आपत्ति प्रकट गर्दछ । यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गंभीर प्रश्न खडा गरेको छ ।

२. हालै गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा सङ्लग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कुनै कार्बाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाईल गरेको निर्देशनप्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकार माथि मात्रै हस्तक्षेप गरेको छैन, यसले अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको छ । पार्टी यसप्रति गंभीर आपत्ति प्रकट गर्दछ र नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न गंभीर ध्यानाकर्षण गर्दछ ।
३. पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ मा काठमाडौंँमा बस्ने छ । त्यस अघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९–२० मा काठमाडौँमा बस्नेछ ।
प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार २०:१३








