नुवाकोटबाट काठमाडौँ हिँडेको यात्रुवाहक इभी लिखु खोलामा खस्यो
११ असोज, नुवाकोट । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गतको नुवाकोटको ढिकुरे छहरे सडक खण्डको लिखुमा एउटा इभी दुर्घटनामा परेको छ । गएराति विदुरबाट काठमाडौँ जाँदै गरेको इभी दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार नुवाकोटबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०६००१ ज ३३८ नम्बरको इभी सडकबाट लिखु खोलामा खसेको छ । राति करिब ११ बजेर ३० मिनेटको समयमा इभी खोलामा खसेको हो ।

दसैँको समयमा बिहान काठमाडौँबाट नुवाकोट आउने यात्रुहरूको चाप हुने भएकाले राति नै काठमाडौँ फर्किने क्रममा इभी दुर्घटनामा परेको हो । तीव्र गतिका कारण इभी खोलामा खसेको देखिएको र दुर्घटनामा चालक समान्य घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनाको समयमा इभीमा चालकमात्र रहेका थिए ।
प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार ०८:२१












