पुष्पलाल, मदन र मनमोहन भन्दा बढी सुनिन र पुजिन केपीले गरेका प्रयत्न
-माधवप्रसाद तिवारी
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको असफलतासँग जोडेर फेसबुक, एक्स र टिकटक जस्ता सोसल मिडिया प्लेटफर्ममा एमालेकै उपमहासचिव विष्णु रिमालको कत्लेआम गर्ने अभियान चलिरहेको रहेछ । ओली निकै राम्रो तर रिमालका कारण असफल भएको भनेर व्यापक तर्कहरू सिर्जना गरिएका रहेछन । यी तर्कहरू निकै पूर्वाग्रह प्रेरित देखेर यस माथि टिप्पणी गर्न मान लाग्यो । तर्क गर्नेहरूले न त केपी ओली न त विष्णु रिमाललाई चिन्न र बुझ्न सकेका रहेनछन भन्ने लाग्यो । हुनत् बाटोमा हिड्दा हिँड्दै कुम जोडेर तस्बिर खिचाएर गम्भीर विषयमा छलफल भयो भनेर निकट सम्बन्ध छ भन्ने भ्रम समाजिक सञ्जाल मार्फत पारेर चन्दा उठाउने अभियानमा लाग्नेहरू गहिराइमा पुगेर तर्क गर्छन भन्ने लाग्दैन ।
खासमा रिमाल एक कुशल व्यवस्थापक हुन । जसले ओलीले आँ गर्दा अलँकार बुझ्थे र ओली जेमा खुसी हुन्छन त्यसैका लागि काम गर्थे । यो हामीले बाहिरबाट देखेको कुरा हो । संविधान दिवसका नाममा भएका कन्सर्टदेखि झोले अभियानका नाममा एउटै कारखानामा पोस्टर उत्पादन गरेर जवरजस्त नेताहरूलाई फेसबुकमा सेयर गर्न लगाउनेदेखि प्रोफाइल परिवर्तन गर्न लगाउनेसम्मको काम ओलीकै इच्छामा भएका थिए ।
ओलीसँग धेरै निकट भएर काम गरेका एमालेकै नेताहरूका अनुसार उनी अरूको कुरा सुने पनि निर्णय आफ्नो गर्ने नेता हुन । खासमा उनले कसैको पनि सल्लाह र उपदेश मन पराउँदैनन् । पार्टीभित्र सुझाव दिने नेताहरूमाथि ओलीले गरेको कत्लेआमले नै त्यस विषय पुष्टि पनि गर्छ । त्यसकारण रिमालको सल्लाहले ओली सकिए भनेर भाष्य बनाउनु बेकार छ । रिमालले ओलीलाई सल्लाहमात्र दिन्थे भने तीन महिना पनि उनको सचिवालयमा टिक्न सक्ने थिएनन् । एउटा सत्य के हुन सक्छ भने रिमालले ओलीसम्म पुर्याएका कतिपय सूचना गलत थिए होला, व्यापारिक स्वार्थका थिए होला । कतिपय त्यस्ता काममा ओलीको दुरूपयोग पनि भएको हुनसक्छ । यद्यपी यो पनि स्वयं ओली वा रिमालले नै भन्ने र बोल्ने कुरा हो ।
पार्टीका नेता र कार्यकर्तालाई भेट्न नदिइने गरि घेरा बनाइयो र त्यसकारण ओली विग्रिए भन्ने कोणबाट पनि बहस भैरहेको छ । ओली भेटाउने काम त रिमालको हुँदै होइन । उनले सचिवालयको प्रमुखको हैसियतामा त्यो काम कहिले पनि गरे जस्तो पनि लाग्दैन । त्यसमा ओलीले भेट्न नमान्नुसँग रिमालले भेट्न दिएनन भन्नु अर्को बेकारको कुरा हो । ओलीले भेट्ने चाहना राखे भने तीन घण्टामात्र सुत्ने ओलीलाई भेट्न नपाउने कुरानै भएन ।
खासमा ओली नेपालको सर्वश्रेष्ठ नागरिक बन्न चाहन्थे । उनी पुष्पलाल, मदन र मनमोहन भन्दा बढी सुनिन र पुजिन चाहन्थे । ओलीको उक्त चाहना साकार बनाउन रिमालले ‘बा ब्राण्डिङ’मा मनोज पाण्डे खटाए । ओली सबैको ‘बा’ बन्न चाहन्थे सबैलाई तिमीहरू भनेर नानीबाबु भनेर सम्बोधन गरेर अग्लो हुन चाहन्थे । उनको राष्ट्रिय ‘बा’ बन्ने अभियानका लागि कान्तिपुरमा १५ दिनमा एउटा लेख जस्तो सामग्री छापिन्थ्यो । ‘केपीबा’ नामको युट्युव च्यानलमा भिडियो अपलोड हुन्थ्यो । उनका ती लेख र भिडियो हजारदेखि प्रन्ध्र सयसम्म सेयर पनि हुन्थ्यो । खासमा पार्टी र समाज एकातिर र ओलीको बाटो अर्कोतिर हुँदा त्यसमा धेरैको चासो थिएन । त्यस काममा गत प्रतिनिधिसभाको निर्वाचनमा ओलीकै सचिवालयमा बसेर एमालेका उम्मेदवारसँग रिसर्चका नाममा बार्गेनिङ गरेर चन्दा उठाउने समूह सक्रिय थियो । उनीहरूले भनेजति बजेट पाए रिसर्चको रिपोर्ट भनेर चुनाव जित्ने लिस्टमा राखिदिन्थे भने बजेट नपाएपछि हार्नेको सूचीमा राखेर प्रचार गर्थे । पछि यही समूहले ओली प्रधानमन्त्री भएपछि प्रधानमन्त्री कार्यालयमा सहसचिव सरहको सुविधाको विज्ञको नियुक्ति समेत लियो । उनीहरूले नै ओलीलाई सचिवालय विस्तार गर्न पर्दैन सबै हामीले गरिहाल्छौ भनेर घेरा हाले ।

सम्भवतः ओलीले सल्लाहकारहरूको कुरा सुन्थे र त्यसैमा आधारित भएर बोल्थे भने हरेक जसो भाषणमा गलत कुरा स्थपित गर्ने प्रयास गर्ने थिएनन् । उनी हरेक सम्बोधनमा कसै न कसैप्रति निरन्तर आक्रोश पोखिरहन्थे । कतिसम्म भने नागरिकहरू बाढीमा फसेर उद्धार गर्न १० घण्टा लाग्यो भन्ने समाचार आयो भने ओलीले हामी पनि खोलामा बगेको मान्छे भनेर जवाफ दिन्थे । जुन प्रधानमन्त्रीको हैसियतामा बोलिने हैन सुन्न समेत नमिल्ने कुरा हो ।
ओली निरन्तर भजन सुन्न चाहन्थे तर एमालेभित्र ८० प्रतिशत भन्दा बढी नेता र कार्यकर्ता उनको त्यो रहर पूरा गर्ने अवस्थामा देखिएनन् । रिमालले एउटा कार्यक्रममा ओलीको फेसबुकमा हरेक पोस्टमा ५० हजार लाइक पुर्याउँदा बहुमत प्राप्त गर्ने दाबी सार्वजनिक मञ्चबाट गरे । पार्टीका तल्ला कमिटी र जनसंगठनमा पनि मौखिक रूपमा ओलीको पोस्टमा लाइक, कमेन्ट र सेयर गर्न उर्दी जारी भयो तर औसतमा १० हजार लाइक भन्दा बढी कहिल्यै देखिएन् । ओलीको चाहना निरन्तर अग्लो बन्नेमा रह्यो तर आम नागरिकसँगै नेता र कार्यकर्ताको बीचमा उनको कद निरन्तर घट्दै थियो । जसको कारण ओलीमात्र होइन निकट रहेर सहयोग गरिरहेका पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव रिमाल लगायतहरू वस्तुनिष्ठ बन्ने भन्दा ओलीविरूद्ध घेराबन्दी भएको र षडयन्त्र भैरहेको भाष्य बनाउनेतिर लागे ।
केपी ओली भारतीय नाकाबन्दीविरूद्ध जुधेर र गुमेको नेपाली भूमि नक्सामा समेटेर नेपाली नागरिकको राजनेता भएकै हुन । कतिपय एमालेजनले नभने पनि हरेक नेपालीले सामाजिक सञ्जालदेखि चियापसलका बहस र छलफलमा समेत ओलीलाई राजनेताको उपमा दिएका थिए । तर ओलीमा त्यो भन्दा अग्लो बन्ने महत्वकांक्षा जाग्यो । त्यसैमा ओलीलाई ‘बा’ बनाएर बेच्ने समूह सक्रिय भयो । त्यसपछि ओलीलाई राष्ट्रिय ‘बा’ बनाउने अभियान चल्यो । उक्त अभियान संस्थागत गर्न एमालेले पार्टीका व्यानरमा ओलीको ठूलोठूलो तस्बिर राख्ने तर संस्थापकहरूको तस्बिर हटाउने निर्णय नै गर्यो । यसले ओलीलाई अग्लो हैन ओरालो यात्रामा डोर्यायो । त्यसपछि उनी कमरेड हैन ‘बा’ मात्र भनेर सुनिन चाहे । त्यसका लागि उनी कमरेड छाडेर राष्टिय ‘बा’ हुने पथमा अघि बढे । अर्थात एमालेका नेताहरूले नामका अघि कमरेड लेख्ने प्रचलनमा ब्रेक लगाउँदै उनले आफ्नो नामका अघि कमरेड लेख्न रोक लगाए । पार्टीको अन्तरपार्टी निर्देशन जारी हुँदा पनि उनले आफ्नो नामका अघि कमरेड लेखेनन् भने सार्वजनिक स्थानमा राखिने शिलापत्रमा पनि आफ्नो नामका अघि कमरेड लेख्न दिएनन् । एमालेको मध्यपहाडी लोकमार्गको यात्राका क्रममा बैतडीको झुलाघाट र पाँचथरको चिवाभञ्ज्याङमा राखिएको राष्ट्रिय झण्डासहिको शिलालेखमा नामको अघि कमरेड राख्न दिएनन् ।
२०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेको भन्दा ओलीको ब्राण्डिङ गर्ने अभियान सञ्चालन भयो । पत्रपत्रिकाको मुख्य पृष्ठमा प्रकाशित विज्ञापनदेखि सामाजिक सञ्जालमा प्रचारका लागि बनाइएको मुख्य पोस्टहरूमा ‘मंसिर ४, ओली सरकार’को नारा दिइयो । जहाँ एमाले नै गौण बनाइयो । त्यसपछिका दिनमा एमालेभित्र ओलीको नाममा संस्थापन भनेर महासचिव पोखरेलसहितका नेताहरूले गुटबन्दी सुरू गरे । सामान्यतया संस्थापनले नै गुट बनाउने अभ्यास कम हुने भए पनि पोखरेलको मुख्य नेतृत्वमा गुटबन्दी सुरू भयो । त्यसपछि जिल्ला अधिवेशनदेखि जनसंगठनका अधिवेशन र महाधिवेशनहरूमा पनि ओली गुटका नाममा उम्मेदवारहरू उभ्याउन थालियो । ‘बा’ ब्राण्डिङको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि थालिएको कदम पार्टीको वडा कमिटीसम्ममा एउटा गुटामा सीमित हुन पुग्यो । जसका कारण ओलीले सत्तामा पुगेर गरेका राम्रा कामको पनि प्रचार हुन सकेन भने नेतृत्वको रक्षाका लागि पार्टीका कुनै पनि पंक्तिले दुःख कष्ट गरेन । जिल्ला कमिटीदेखि जनसंगठनसम्ममा गुटका नाममा नियुक्ति दिएर अधिवेशनहरू नियुक्ति सम्मेलनमा रूपान्तरित हुन थाले केपी ‘बा’ नभन्नेहरू फरक पार्टीका नेताभन्दा बढी दूर्व्यवहार र अपमानमा पर्न थाले ।
पछिल्लो पटक केपी प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै चल्यो । सिंहदरबारले शासनको खास मजा नै लिन पाएन । प्रधानमन्त्री नै सिंहदबारमा नदेखिने भएपछि मन्त्रीहरू पनि मुस्किलले भेटिन्थे । मन्त्रीहरू नभएपछि सचिवहरू बस्ने कुरै भएन । ओलीको सुशासनको नारा गफैमा सीमित भयो । अझ भ्रष्टाचारीको अनुहार पनि नहेर्ने भन्ने नारा व्यवहारमा उल्टो प्रयोग भयो । ओलीले भ्रष्टाचारमा संलग्ननहरूलाई चाहिँ आँखै नहेरी अँगालोमा बेरे । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीदेखि संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसम्मको घटनाले ओलीको नीति पूर्णत असफल भएको थियो । अख्तियारका आयुक्तले घुस खाएको प्रमाणित हुँदा जागिर गएर मुद्दा चलेको नेपालमा, मरेका मानिसहरू समेत भ्रष्टाचारी ठहर भएर सम्पत्ति समेत जफत भएको नेपालमा ओलीले भने आरोपीको संरक्षणमात्र गरिरहे । जसका कारण नागरिकमा बढेको निराशमा बलेको आगोमा घ्यू थपे जस्तो भयो ।
नागरिकले आक्रोश पोख्नका लागि सामाजिक सञ्जालमा प्लेटफर्महरू उपलब्ध रहेका थिए सरकारले त्यो पनि बन्द गर्ने योजना अघि बढायो । सरकारले समाजिक सञ्जालहरूलाई कानुनी दायरमा ल्याउनुपर्छ भन्नेमा कुनै दुईमत छैन । तर केही व्यक्तिले मेटाको ठेक्का लिनका लागि बनाएको योजनामा सरकार नै दुरूपयोग भएर तत्काल विभिन्न प्लेटफर्ममा प्रतिबन्ध लगाउने निर्णयमा पुग्यो । आलोचना रोक्ने नियत र मेटाको ठेक्का मार्फत थप शक्ति आर्जन गर्ने समूहको स्वार्थ पूरा गर्ने प्रयास असफल हुँदा ओली २१ युवाको हत्या गर्ने सरकारको नेतृत्वकर्ताको रूपमा सत्ताबाट गलहत्याइन पुगे । उनी बालुवाटारबाट ज्यान जोगाएर भाग्नका लागि प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भए । उनले नेतृत्व गरेको सरकारकै पालामा देशका महत्वपूर्ण भौतिक संरचनाहरू खरानी भए ।
करिब १५ हजार गोली चलाएर सरकारले भदौ २३ गतेको जेनजी पुस्ताको प्रदर्शन दबाउन नखोजेको भए सम्भवतः आज यो दिन नआउन सक्थ्यो । २४ भदौको बिहानै २३ गते घुसपैठ भएको हो ओलीजी तपाई ठीक हुनुहून्छ । सेना र सशस्त्र प्रहरी समेत अझै प्रभावकारी परिचालन गरेर सत्ता जोगाउनुपर्छ भने बिन्ति गर्न महासचिव पोखरेल र अर्का उपमहासचिव प्रदीप ज्ञवाली बालुावटार नै पुगे । ओलीलाई उत्प्रेरित गर्न बालुवाटार पुगेकाहरू नै केही घण्टाभित्रै ओलीसँगै नरहने परिस्थिति बन्यो । अन्ततः ओलीले आफू ज्यान बचाउन भाग्ने बेलामा रिमाललाई मात्रै सँगै लिएर कुदे तर पोखरेल र ज्ञवाली र अनि उपाध्यक्ष समेत रहेका त्यस समयमा अर्थमन्त्री रहेका विष्णु पौडेलहरू सभामुख निवासतर्फबाट आफैँ भागेर ज्यान बचाउन विवश भए ।
ओलीलाई यो अवस्थासम्म पुर्याउनका लागि रिमाल मात्र हैन पोखरेल र ज्ञवालीको पनि भूमिका उत्तिकै छ । अझ बढी पार्टीका नाममा नेताहरूले गरेका तमाम गल्ती र कमजोरीमा पनि स्यावास भनेर ताली पिट्ने नेता र कार्यकर्ताहरूको भूमिका बढी छ । त्यसकारण एक्लै अग्लो बन्ने अभियानमा रहेका ओलीलाई सग्लो देखाउने नाममा कुनै एक व्यक्तिकोमात्र कत्लेआम गर्नु राम्रो होइन । घटनाक्रमको वस्तुनिष्ठ समिक्षा गरेर अघि बढ्नु राम्रो हुन्छ । नेपाली जनताले नै राजनेता भनेर पुकार गरेका ओलीलाई ‘बा’ ब्राण्डिङको बाटोबाट झोलेहरूको नेता हुँदै खरानीको थ्रुपोमा पुर्याउन भएका कामको समिक्षा गरेर एमाले अघि बढ्न सकेन भने कार्यकर्ताहरूले नेता त जोगाउलान आफ्नै घरको मत जोउन भने मुस्किल पर्ने देखिन्छ ।
प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार ११:५४












