२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

आफूले सम्हालेका मन्त्रालयमा गुनासो, सुझाव पठाउन मन्त्री घिसिङको आग्रह

९ असोज, काठमाडौं । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आफ्नो मन्त्रालयसँग सम्बन्धित गुनासो,सुझाव, समस्या भए पठाउन आग्रह गर्नुभएको छ ।

बिहीबार सामाजिक सञ्जालमार्फत उहाँले आफ्नो जिम्मामा रहेका तीन मन्त्रालयसँग सम्बन्धित गुनासा, समस्या र सुझाव पठाउने शैलीबारे पनि जानकारी दिनुभएको छ ।

उहाँले जेनजीले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा प्राथमिकताका साथ लागिरहेको दाबी गरेका छन् । ‘जेनजी पुस्ताले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा हामी अहिले प्राथमिकताका साथ लागिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘एकातिर निर्वाचन गराउनुपर्ने प्रमुख दायित्व हाम्रासामु छ भने अर्कातर्फ क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनर्निर्माण उत्तिकै महत्त्वपूर्ण छ। नेपाली जनताले ठूलो आशा, भरोसा गरेको सरकारले दिगो विकासका लागि बलियो आधार निर्माण गर्नुपर्ने समय पनि यही हो।’

उहाँले लेख्नुभएको छः

आदरणीय दिदीबहिनी एवम् दाजुभाइहरू,

तपाईंहरूको साथ र विश्वास मेरो लागि अमूल्य​ छ। हरेक दिन तपाईंहरूको चिन्ता, सुझाव र आशाहरू मलाई प्रतिकात्मक रूपमा प्राप्त हुन्छन् र तिनीहरू नै मेरो काम गर्ने प्रेरणा हुन्।

धेरै शुभचिन्तकहरुले फोन, मेसेज र अन्य सामाजिक सन्जालमार्फत मलाई सम्पर्क गरिरहनुभएको छ, महत्वपूर्ण सल्लाह, सुझाव दिइरहनुभएको छ। यहाँहरु सबैले कल र सन्देशहरूमा उठाउनुभएको कुरा सम्बोधन गर्न हामी प्रतिवद्ध भएर लागेका छौं ।

ठूला परियोजनास्थल र विकास कार्यहरूको प्रत्यक्ष अनुगमन, योजना र व्यवस्थापनमा सक्रिय रूपमा व्यस्त भएको कारणले, सबै फोनहरू तुरुन्तै उठाउन म सक्षम हुन सकिरहेको छैन । यसमा तपाईंहरूको धैर्यताको अपेक्षा गर्दै म विनम्र क्षमायाचना गर्दछु।

यो व्यस्तता कुनै व्यक्तिगत संवेदनाको अभावले होइन बरू यो तपाईंहरूको भविष्य, सामाजिक सुरक्षा र दीर्घकालीन समृद्धिका लागि गरिरहेको दृढ प्रयासका कारण हो।

जेनजी पुस्ताले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा हामी अहिले प्राथमिकताका साथ लागिरहेका छौं ।एकातिर निर्वाचन गराउनुपर्ने प्रमुख दायित्व हाम्रासामू छ भने अर्कातर्फ क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनर्निर्माण उत्तिकै महत्वपूर्ण छ। नेपाली जनताले ठूलो आशा, भरोसा गरेको सरकारले दिगो विकासका लागि बलियो आधार निर्माण गर्नुपर्ने समय पनि यहि हो ।

तीन वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी बहन गरिरहदा विकास निर्माणका कामहरू सहज र दिगो रूपमा अगाडि बढाउन तीन तहकै सरकार, संरचनागत साझेदार र समुदायसँग लगातार संवादमै समय बिताउनु अनिवार्य हुन्छ। र यसै सिलसिलामा यहाँहरुले खोजेको समयमा भौतिक रुपमा वा फोनमै पनि उपलब्ध हुन सकिरहेको छैन ।

तपाईंलाई आश्वस्त पार्न चाहन्छु- तपाईंको कुरा र समस्या मेरो कार्यालयद्वारा अनुगमन भइरहेकै छन् र प्राथमिकताका आधारमा समाधानतर्फ अघि बढाइरहेको जानकारी गराउदछु।

मैले सम्हालेका मन्त्रालयसङ्ग सम्बन्धित कुनै गुनासो, समस्या वा सुझाव भए हामीलाई पठाउनुहोला, त्यसका लागि निम्न शैली अपनाइदिनुहोला:

1. आफ्नो पूरा नाम, ठेगाना (गाँँउपालिका/नगरपालिका/म​हा-नगरपालिका), र सम्पर्क नम्बर स्पष्ट लेख्नुहोस्।
2. सन्देशको सार संक्षेपमा (१-२ वाक्य) र आवश्यक supporting कागजात/फोटो भए संलग्न गर्नुहोस्।
3. अत्यन्त जरुरी भएमा सन्देशको सुरुवातमा “URGENT / अत्यन्त जरुरी” उल्लेख गर्नुहोस् ताकि सहकर्मीहरूले प्राथमिकता दिन सकून्।

तपाईंहरूको सुझाव, सचेतना र प्रतिक्रियाले हामीलाई अझै सबल बनाउँछ। तपाईंहरूको माया, समर्थन र निरन्तर प्रेरणाका लागि म हृदयदेखि आभारी छु।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १३:३३