२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

५ असोज, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ ।

नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो । उक्त व्यवस्था हाललाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार यो व्यवस्था स्थगन गर्नका लागि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको हो ।

सूचना अधिकारी पराजुलीका अनुसार परिवर्तित व्यवस्थाको आज प्राविधिक परीक्षण हुनेछ । भोलि सार्वजनिक बिदा परेका कारण मङ्गलबारदेखि यो व्यवस्था लागू गरिने उहाँले जानकारी दिनुभयो ।

गत फागुनमा धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौँथो संशोधन), २०८१ संशोधन गरी उक्त विनियमावलीको विनियम ११ उपविनियम (७) मा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने र सो अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने व्यवस्था राखिएको थियो ।

प्रकाशित मिति : September 21, 2025 at 11:55 am