२७ माघ २०८२, मंगलवार | Wed Feb 11 2026

चारपटक चुनाव जितेँ तर मन्त्री भइनँ, मेरै घर जल्योः शशांक कोईराला

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शशांक कोईरालाले जेनजी पुस्ताको आन्दोलनमा आफ्नो घर जलाइएकोप्रति आश्चर्य व्यक्त गर्नुभएको छ । बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा संविधान दिवसका अवसरमा आज आयोजित ‘मौजुदा संविधान र यसका चुनौतीहरू’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गर्नुभएको हो ।

उहाँले जेनजीलाई आफ्नो घर किन जलाएको भनी प्रश्न गर्नुभएकाे छ । ‘मेरो घर पनि जल्यो । मैले के गल्ति गरेको थिएँ ? थाहा छैन । चार चोटि चुनाव जितेँ, मन्त्री पनि भएको छैन । न त भ्रष्टाचार नै गरेको छ ।’ उहाँले थप्नुएकाे छ, ‘म त अचम्ममा परेँ । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो । मान्छेहरू मरे,एक्सपर्टले गोली हानेको छ । टाउको र छातीमा नै गोली हानेको छ । जुन पुलिसले गर्नै सक्दैन । घुसपैठहरू आन्दोलनमा घुसेका छन् ।’

नेता कोइरालाले वास्तविक जेनजी को हो भनेर ठम्याउनुपर्ने समय आएको बताउनुभएकाे छ । ‘पहिले त हामीले यो जेनजी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनुपर्‍यो । उनीहरूले तीन वटा कुराहरू उठाए’ उहाँले भन्नुभयाे, ‘सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालको कुरा मात्रै थियो । तर पछि उनीहरूले त हरेक ठाउँमा आगो लगाए ।’

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार १७:२३