२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

सेनाको परीक्षामै नक्कली परीक्षार्थी, ११ जना परिक्षा हलबाटै पक्राउ


१० चैत,काठमाडौं । शनिवार नेपाली सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा ११ जना नक्कली परीक्षार्थी भेटिएका छन् ।

नेपाल प्रहरीले शनिबार विभिन्न परीक्षा केन्द्रबाट ११ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो । अरुलाई परीक्षा दिन पठाउने अर्का एकजना पनि समातिएका छन् । पक्राउ पर्नेमा ८ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सीआईटी कलेज, कोटेश्वरबाट १० जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।

पोखरेलले रत्नराज्य क्याम्पसबाट एकजना फर्जी परीक्षार्थी पनि समातिएको बताए । ‘उनीहरु सबैले अर्काको नाममा परीक्षा दिँदै थिए । आफ्नो परीक्षा दिन अरुलाई पठाउने एक जना पनि पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखेर थप अनुसन्धान अघि बढाइएको छ’ पोखरेलले भने ।

सुरक्षा निकायका परीक्षामा नक्कली परीक्षार्थी भेटिएको थिएन । तर यसपटक भने सेनाकै परीक्षामा नक्कली भेटिए । जागिरका लागि तिव्र प्रतिस्पर्धा हुन थालेपछि यस्ता नक्कली उम्मेदवारसमेत देखिएका हुन् । कमजोर परीक्षार्थीले आर्थिक मिलेमतो गरेर नक्कली परीक्षार्थी पठाउने गरेको प्रहरीको दावी छ । पोखरेलका अनुसार, कतिपय भने आफन्त तथा साथीसंगी पनि यस्तो काममा संलग्न हुने गरेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार १८:०७