शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्दै हिमालयन हाईड्रोपावर
१ असोज, काठमाडौं । हिमालयन हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको प्रस्तावसहित साधारण सभा बोलाएको हो । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २४ गते पोखरामा रहेको वाटरफ्रन्ट रिसोर्टमा कम्पनीको १८ औं साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
उक्त सभामा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यी विषयहरुमा नियमनकारी निकायहरुबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशषे प्रस्ताव पारित गरिनेछ ।
यसैगरी, सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, वासलात, नाफा नोक्सान हिसाबसहितको लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १०:३५












