२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

हामीलाई दल होइन, देश चाहिन्छ भन्दै एमाले भक्तपुरका युवा नेताहरूद्धारा सामूहिक राजीनामा

३१ भदौ, काठमाडौँ । भदौ २२ र २३ गते जेनजी पुस्ताको आन्दोलनमा सरकारले गरेको अनावश्यक हस्तक्षेपप्रति आपत्ति जनाउँदै नेकपा एमाले भक्तपुरका विभिन्न तहका युवा नेताहरूले सामूहिक राजीनामा घोषणा गरेका छन्।

उनिहरूले भदौ २४ गते एक विज्ञप्ति जारी गर्दै उनीहरूले युवाहरूले समय–समयमा उठाएका भ्रष्टाचारविरुद्धका आवाज, न्यायका माग र सामाजिक जिम्मेवारीलाई बेवास्ता गर्ने वर्तमान राजनीतिक नेतृत्वलाई अस्वीकार गर्ने निर्णय गरेका हुन्।

आन्दोलनको समर्थनमा कारबाही गर्ने प्रयास भएपछि उनीहरूले नेतृत्वको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्। उनीहरूले अब कुनै पार्टी, पद वा कुर्सीको लागि नभई नागरिकका हक अधिकार, न्याय र देशको भविष्यको लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामूहिक राजीनामा दिने नेताहरूमा एमाले दुर्गानायक नगर कमिटीका अध्यक्ष एलिशा कार्की, चाँगुनारायण नगर कमिटीका संयोजक रेन्जन थकुल, मध्यपुर थिमी नगर कमिटीका संयोजक रोशन कुँवर, भक्तपुर नगर कमिटीका संयोजक रोजिना गोटे, भक्तपुर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष बिक्रम शर्मा र क्याम्पस कमिटीका संयोजक निराजन थापालगायत छन्।

उनिहरूले विज्ञप्तिमा लेखेका छन्, “हामीलाई दल होइन, देश चाहिन्छ।”

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १६:२०