सिंहदरबारसहित सरकारी निकायका जले १०४२ सवारी साधन
३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका कारण सिंहदरवार र आसपासका सरकारी निकायममा ठुलो संख्यामा सवारीसाधनहरु आगजनीका कारण क्षति भएका छन् । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, विभिन्न मन्त्रालय र सरकारी निकायमा आगजनी गरेका थिए । उक्त आगजनीका कारण ठुलो संख्यामा सवारीसाधनहरु जलेर नष्ट भएका छन् ।
सम्वन्धित निकायको तथ्यांकको आधारमा चार पाङ्ग्रे साना तथा ठूला बसहरु ४४१ वटा र दुई पाङ्ग्रे मोटरसाइकल तथा स्कुटरहरु ६०१ वटामा क्षति भएको अनुमान गरिएको छ ।
तथ्याङ्क अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ४७ वटा साना गाडी तथा बस जलेका छन् भने ७४ वटा मोटरसाइकल तथा स्कुटर जलेका छन् । अर्थमन्त्रालयका ३६ वटा गाडीमा आगजानी भएको छ । सो मन्त्रालय अन्तर्गतका ५४ वटा मोटरसाइकल तथा स्कुटर, गृह मन्त्रालयका २५ वटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २६ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसदमा १८ वटा, वन तथा वातारण मन्त्रालयका १७ वटा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा गाडी जलेर नष्ट भएका छन् ।
त्यस्तै, गृह मन्त्रालयका ३० वटा मोटरसाइकल तथा स्कुटर, कृषि मन्त्रालयको ३९ वटा, शिक्षा मन्त्रालयको ४७ वटा, खेलकुद मन्त्रालयको २३ वटा, संघीय संसदको ३६ वटा मोटर साइकल तथा स्कुटर जलेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भने ३३ वटा साना गाडी र २ ठुला बस जलेको छ ।सो मन्त्रालयमा ३६ वटा बाइक र स्कुटर जलेको तथ्याङ्क छ ।
त्यसैगरि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्याल्य बग्गीखानामा १८ वटा गाडी र २९ वटा बाइक तथा स्कुटर जलेका छन् । यता, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पनि ९ वटा बाइक तथा स्कुटर जलेको आँकडा छ ।
सर्वोच्च अदालतमा पनि ५१ वटा गाडी जलेर नष्ट भएका छन् । भने बाइक तथा स्कुटर भने गन्न नसकिने अवस्थामा जलेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि २२ वटा गाडी र १४ वटा दुईपांग्रे सवारी साधान जलेका छन् । सहरी विकास तथा भवन विकास विभागमा ५० वटा गाडी जलेका छन् भने अनुमानित २०० वटा दुईपांग्रे सवारी जलेको तथ्याङ्कमा उल्लेख छ । सडक विभागमा पनि ६५ वटा गाडी जलेरका छन् । विभागमा दुई पांग्रे भने गन्न नसकिने अवस्थामा जलेका छन् । साथै, महान्याधिवक्ताको कार्यालयमा पनि २ साना र एक बसमा आगजनीका कारण पूर्ण क्षति भएको अनुमान छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १३:५६












