मौलाकाली केबलकारमा आगजनी र तोडफोडपछि ठूलो क्षति, पुनः सञ्चालनको प्रतिबद्धता
२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा मौलाकाली केबलकारमा भएको आगजनी र तोडफोडका कारण ठूलो क्षति पुगेको छ। केबलकार व्यवस्थापनले एक विज्ञप्ति जारी गर्दै मौलाकाली केबलकार कुनै व्यक्तिगत सम्पत्ति नभई हजारौँ स्थानीय सेयर धनीहरूको संयुक्त लगानीबाट निर्मित राष्ट्रिय सम्पत्ति भएको स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यो गैँडाकोट र नवलपुरको पहिचान, पवित्र भूमि देवघाटको शिर, नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको गण्डकी क्षेत्रकै साझा गौरव हो।’
यस घटनाबाट केवल लगानीकर्ताहरू मात्र नभई गैँडाकोट र चितवनका स्थानीय बासिन्दा, कर्मचारी र समग्र पर्यटन क्षेत्रलाई गहिरो पीडा पुगेको कम्पनीले बताएको छ। यद्यपि, कम्पनीले आफ्नो सपना र अठोट नटुटेको भन्दै सबैलाई हातेमालो गरेर पर्यटन क्षेत्रलाई अगाडि बढाउने सङ्कल्प गरेको छ। व्यवस्थापनले छिट्टै सेवा सुचारु गर्ने र अझ गुणस्तरीय सेवा प्रदान गर्दै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
तोडफोड र आगजनी नियन्त्रणका क्रममा सक्रिय भूमिका खेलेका सुरक्षाकर्मी, स्थानीयवासी तथा कर्मचारीप्रति कम्पनीले आभार व्यक्त गरेको छ। यति ठूलो क्षति भए पनि सपना र अठोट भने नटुटेको भन्दै कम्पनीले छिट्टै सेवा पुनःसञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।
अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवर्द्धनमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाएको मौलाकाली केबलकार लिमिटेडले यस संकल्पलाई अघि बढाउन स्थानीय समुदायको निरन्तर सहयोग रहने विश्वास लिएको छ।
प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १६:१२












