२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

संसद् विघटन तत्काल फिर्ता लिन माग गर्दै ८ दलका प्रमुख सचेतककाे संयुक्त विज्ञप्ति

२८ भदौ, काठमाडौँ । विघटित प्रतिनिधिसभाका ८ वटा राजनीतिक दलहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको प्रहार भनेका छन् ।

‘यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ । शुक्रबार नवनयुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए ।

८ वटा राजनीतिक दलहरूले भने विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिइ तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौं ।’

 

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार १७:५१