२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

राजनीति, दल, एक्स, वाई र जेनजी  

-टिका निधि लोहनी

सन १९९३ मा 13th Gen : Abort, Retry, Ignore, Fail ?  भन्ने शीषर्कमा पुस्तक निकालेर William Strauss / Neil Howe नामका विद्धानले सन् १९६१ देखि १९८१ सम्म जन्मिएर सन् १९९३ मा १२ वर्षदेखि ३२ वर्ष सम्म रहेको पुस्तालाई जेनेरेसन एक्सको नाम दिए । खासमा उनीहरूले सन् १५८४ देखिको अमेरिकी समाजको अध्ययन गरेर सन् १९६१ देखि जन्मिएको पुस्तालाई १३ औँ पुस्ता ठहराएका थिए । सन् १९९१ को Generations, सन् १९९७ मा The Fourth Turning, सन् २००० मा Millennia’s Rising : The Next Great Generation र सन् २०२३ मा The Fourth Turning is Here लगायतका पुस्तकहरूमा पुस्तासम्बन्धी उनीहरूका अवधारणा, अनुसन्धान र प्रमाणहरू सार्वजनिक भकाएछन् । उनीहरूको पहिलो पुस्तकले नै जेन जी, अल्फा र बिटाहरूका पुस्ताहरूको बारेमा बताएको छ । अहिले जेनेरेसन जेड (जेन जी) पुस्ताको चर्चा नेपाली बजारमा ह्वात्तै बढेको छ । सालाखाला १९९७ देखि २०११ सम्म जन्मिएका बच्चाहरू यो पुस्तामा पर्दछन् । उनीहरूलाई जुमर पनि भनिन्छ । यो कुनै निकायले प्रमाणित गरेको कडिकडाउ सिमाना हैन । सरदर आज १४ वर्ष उमेर देखि २८ वर्ष उमेर भएका युवाहरूलाई जेन जी भनिन्छ । तर, यो साइलेन्ट, बेबी बुमर, एक्स, वाई, जेड, अल्फा, बिटा चाहिँ खास गरी अमेरिकन सामाजिक, आर्थिक परिदृश्यमा बनाइएको धमिलो वर्गीकरण हो । एउटा खास अवधिमा जन्मिएका बच्चाहरूका केही महत्त्वपूर्ण सामाजिक गुणहरू अमेरिकी समाजमा एकै पाइएको भन्ने अध्ययनको निष्कर्षका आधारमा यो पुस्ताहरूको व्याख्या गरिएको हो । यो लेखमा उल्लेखित अमेरिकी अध्येताहरूको कुरालाई यही विट मार्दै नेपालमा हालैका दिनमा नयाँ पुस्ताको आवाज राजनीतिमा सम्बोधन गर्ने सम्बन्धमा भएको द्धन्द र यस वरिपरिको विषयलाई चर्चा गरिनेछ ।

समाजमा जेन जी महत्त्वपूर्ण आवाज हो । जेन जी पहिचान, परिचय, जिम्मेवारी र जबाफदेहिता खोज्दै छ । नेतृत्व गर्ने हिम्मत गर्दै छ । तर, समाज जेन जीको मात्र चाहिँ हैन । जेन जी पछि अल्फा जेनेरेसन पनि समाजमा हुर्कदैछ । अव भरखर टिन एज तिर छिर्दै छन् उनीहरू । बिटा जेनेरेसन पनि पास्नी गर्ने वेलासम्म आइपुगेको छ । मिलेनियल (जेनेरेसन वाई ) ४४ वर्षभन्दा कान्छो र जेनेरेसन एक्स पनि समाजमा ६४ वर्ष भन्दा कान्छो पुस्ताका रूपमा सक्रिय छ । सक्रियताका हिसाबले हेर्दा बेबी वुमर्स भनिने सन् १९४६ देखि १९६१ सम्म जन्मिएको पुस्ता अहिले रिटायर्डमेन्टको चरणमा छ । तर, व्यापारिक र राजनीतिक क्षेत्रमा भने त्यही पुस्ताको हालीमुहाली छ । समाजमा जनसाङ्ख्यिक बनौटका हिसाबले जेनेरेसन एक्स, वाई र जडेको सक्रियता भएता पनि नेतृत्वमा बेबी वुमर्सहरु उच्चो स्थानमा छन् । नेपालमा मात्र हैन, जीवनभरको परिश्रममा आधारित भएर प्रगति गरेका र जीवनमा सफल भएकाहरू पनि ६५ वर्ष उमेर नाघेका बाहरु प्रशस्त छन् । यसो हुनका केही जायज कारणहरू पनि छन् । जीवनभर मेहनत गर्दा र सफलता पनि पाउँदै जाँदा भर्खर करिअरका लागि सङ्घर्ष गरिरहेको मानिस भन्दा प्रभावशाली त देखिन्छ त अनि । जेनेरेसन एक्सका अघिल्लो केही वर्षका मानिसहरू पनि नेतृत्व अवसरका हिसाबले अगाडि छन् । जेनेरेसन वाई नै कौन पुछेगा खेसडीका दाल भएर पनि गुमनाम रहेको वेला जेनेरेसन जेड्को बलशाली धक्काले पुस्तासम्बन्धी छलफल बलियो भएको छ ।

समाज सञ्चालनका लागि पुरानो पुस्ता र नयाँ पुस्ताका बिचमा पूरक क्षमता हुन्छ । नयाँसँग ऊर्जा र पुरानोसँग अनुभव । नयाँसँग संभावना र पुरानोसँग प्रमाण । भोगाधिकारका हिसाबले नयाँ सँग धेरै र पुरानासँग थोरै । Struss-Howe Generation Theory ले करिब ५५० वर्षका प्रमाणहरूका आधारमा गरेको सामाजिक अनुसन्धानले नयाँ पालुवा पलाउन पुराना पालुवा झरे झैँ समाजमा नयाँ नेतृत्व स्थापित हुन पुरानो नेतृत्वले विस्थापित हुनुपरेको देखाउँछ ।  नयाँ पुस्ताले कोरेको बाटोमा समाज हिँडेको भेटिन्छ । रोमाञ्चक कुरा चाहिँ त्यस्ता बाटाहरू पटक पटक रोटे पिङ घुमेजस्तो घुमेको र अक्सर स्पाइनल मुभमेन्टमा हिँडेको पाइन्छ । उमेरका आधारमा संसारमा राजनीतिक दलहरू वनेका कमै छन् । वनेका भए पनि टिकेका छैनन् । राजनीतिक दलहरू विचारमा आधारित हुन्छन् । कार्यक्रम र घोषणापत्रमा आधारित हुन्छन् । नेपालमा यही साताबाट सुरु भएको जेन जी आन्दोलन एउटा अभियानका नाममा देखा परेको हो । राज्य व्यवस्थामा खबरदारी गर्न आएको अभियान थियो । माइतीघरमा भेला भएर आवाज उठाउन हिँडेको सदनियत देखिने युवाहरूको समूहको आन्दोलन एकाध घण्टामा नै नियन्त्रण बाहिर पुग्यो । पहिलो दिन ठाउँको ठाउँ २० भन्दा बढी युवा मारिए । भोलिपल्ट संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवास, अख्तियार, मन्त्री क्वाटर लगायतका सार्वजनिक सम्पत्ति, नाम चलेका व्यापारिक प्रतिष्ठान, सञ्चार गृह, नेता र व्यापारीका निजी सम्पत्ति ध्वस्त भए । आन्दोलन र लुटपाटको सिमाना अझै छलफल भएको छैन । सेप्टेम्बर ८ र ९ का घटनाले राजनीतिक मान्यता पाएजस्तो देखिएको छ । तर, यो मान्यता स्थायी नहुन सक्छ । जेन जी भनिने समूह राज्य सत्ताको तमाम जिम्मेवारीको उत्तर दिने गरी आएकै थिएन । उसको आवाज त खबरदारी थियो । कुनै गँजडीको सिंहदरबार जलाउने तहको पुरानो हिसाबकिताब बाँकी थियो । युवा र असन्तुष्टहरू भड्काउन तुलनात्मक रूपमा सजिलो थियो । समाधान दिन र त्यसका लागि सहमति जुटाउन ठुलै सीप चाहिन्छ । समय घर्किँदै जाँदा सेप्टेम्बर ८ र ९ को आन्दोलन, भड्काव र लुटपाटको सम्मिश्रण वाट वनेको प्रभाव र तागत कमजोर हुँदै जानेछ । आजका मितिमा प्रतिगामी भन्न मिल्ने काँग्रेस, कम्युनिस्ट लगायतका दलहरूले टाउको उठाउनेछन् ।

dainiki.com

समाज साझा हो । यसलाई सबैको हो भन्ने बनाउन नियम चाहिन्छ । व्यक्तिपिच्छे फरक व्यवहार हुन्छ नै । हिजोको मेरो व्यवहार र विचार भोली फरक परिरहेको हुन्छ । समाज र समयअनुसार मूल्य र मान्यता हुन्छन् । सबैलाई मान्य हुने व्यवहार कसरी गर्ने ? समाज एकदमै तटस्थ बसेर व्यक्ति व्यक्तिका स्वार्थहरूलाई बिर्सेर केही साझा मूल्य र मान्यता बनाइएका हुन्छन् । सबैको त्यस्ता मूल्य र मान्यता प्रतिको प्रतिबद्धता नै समाजको विकासका लागि चालक शक्ति हुन्छ । न्युनतम् साझा खेलका नियमहरू वन्नुपर्यो । र, यसको पालना गर्नुपर्‍यो । खेल सुरु भइसकेपछि खेलका नियम बनाउनु वा संशोधन गर्नु झेली हो । खुल्ला समाजमा नियम बनाउँदा कसैले झेली गर्न सक्दैन भन्ने विश्वास लिइन्छ । सबैले आफ्नो आफ्नो स्वार्थलाई लुछाचुँडी गर्‍यो भने नियम बन्न सक्दैन । अराजकता हुन्छ । त्यसैले सबैलाई न्याय हुने गरी नियम बनाइनुपर्छ । सामाजिक न्यायको आधारभूत मान्यता नै यही हो ।

नेपाली समाजले लामो अभ्यास गरेर लोकतन्त्र, सामाजिक न्याय, विधिको शासन लगायतलाई सामाजिक मान्यताका रूपमा स्विकारेको छ । एकात्मक शासन, निरङ्कुशता, हिरोको शासन, आमूल परिवर्तनकारी शक्तिको शासन । हामीले परीक्षण गरिसकेको हो । जन निर्वाचितहरूको लोकतान्त्रिक शासन नै हामिकँहा सहज देखिएकै हो । त्यसका लागि राजनीतिक दलहरू नै वैधानिक संस्थाहरू हुन् । राजनीतिक दलहरूलाई कमजोर बनाउन हुँदैन । पारदर्शी बनाउनुपर्छ । दलभित्रको प्रजातन्त्रलाई बलियो र संस्थागत गरिनुपर्दछ । दल भित्र हो, एक्स, वाई, जेडहरुलाई सहभागी गराउने । दलभित्र मोडिलाटी बनाउने । प्रणाली अभ्यास गर्ने । हालसम्म राजनीतिक दलहरू भित्रको गैर लोकतान्त्रिक चरित्र र सामन्तवादको म यहाँ चर्चा गरिरहन्न । यो जाहेर र निन्दनीय छ । ताज्य छ । राजकीय सत्तामा हामीले पारदर्शिता, लोकतन्त्र, जबाफदेहिता, योग्यतामा आधारित चयन सहित नयाँ पुस्ता खोजेका छौँ । त्यो त राजनीतिक दलको बाटोबाट आउनुपर्छ । भनेपछि राजनीतिक दलको ढाँचा र संस्कार त्यस्तो वनाउनसक्नुपर्यो । भइरहेका दलमा संलग्न हुने वा ऐन अनुसार नयाँ दल खोल्ने । राजनीति गर्ने । जनसमर्थन जुटाउने । दलको नेता हुँदै सरकारका प्रणालीहरूमा सङ्क्रमण गर्ने । दल बाहिर बस्ने भए नागरिक समाजका रूपमा राजनीतिक प्रणालीमा खबरदारी गर्ने । दलभित्रका उत्तरदायी नेतृत्वलाई सहयोग गर्ने । प्रत्येक कुराका सामर्थ्य र सीमा हुन्छन् । चाहाना असल हुँदैमा समाजले त्यसलाई पत्याइदिन्छ भन्ने हैन । लिडरसिप भनेको सिद्धिपन हैन । प्रभावशाली नेतृत्व गर्नका लागि मानिसका विचारलाई प्रभावित बनाउने हो । यो काम सहज छैन । सवैका लागि असम्भव पनि हैन ।

राजनीतिक गतिविधी प्रतिबन्धित भएको कुनै समय थियो । अहिले समय बदलिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता दलहरूले यही समयमा पाएको सफलता हेर्दा नयाँ राजनीतिक गतिविधिहरूका लागि समाज उदार छ भन्ने नै देखिन्छ । सङ्घीयता, निर्वाचन प्रणाली लगायत अहिले विवादमा आएका र राज्य सञ्चालनका लागि महँगा देखिएका केही प्रणालीका बारेमा सोच्न संविधान संशोधनका माहौल पनि छदैंछ । दण्डहीनताका लागि अख्तियारलाई थप प्रभावकारी बनाउने अवसर छ । प्रणाली बाहिर बसेर पाण्डरा बक्स खोल्ने प्रयास गर्नुभन्दा भएका उपलब्धिलाई संस्थागत बनाउँदै स्थायित्व हासिल गर्नु जायज हुनसक्छ ।

समसामयिक विषयमा कलम चलाउने लोहनीलाई फेसबुकमा पनि भेट्न सकिन्छ । 

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार १०:१८