आइतबारदेखि सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता र सुनुवाइ गर्ने
२६ भदौ, काठमाडौँ । सर्वोच्च अदालतले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता र सुनुवाइ गर्ने भएको छ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले बिहीबार विज्ञप्ति जारी गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ गर्ने जानकारी दिनुभएको हो। विज्ञप्तिमार्फत उहाँले भन्नुभएको छ। ‘यस अदालतमा आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने बेहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीका लागि अनुरोध छ’।
भदौ २४ गते भएको प्रदर्शनको क्रममा सर्वोच्च अदालत सहित काठमाडौँका प्रमुख प्रकाशकीय भवनहरूमा प्रदर्शनकारीले आगजनी गरेका थिए। आगजनी, ढुंगामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनमा भएको क्षतिप्रति प्रधान न्यायाधीश राउतले दुस्ख व्यक्त गरेका छन्।
प्रधान न्यायाधीश राउतले अदालतका मिसिलका कागजातहरू र भौतिक स्रोत साधनको संरक्षण गर्न खटेका न्यायाधीशहरू, कर्मचारीहरू, कानुन व्यवसायीहरू, कानुनका विद्यार्थीहरू, सुरक्षाकर्मीहरू तथा नागरिकलाई धन्यवाद दिनुभएको छ।
प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १७:००












