२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

दुई वाणिज्य बैंकले घोषणा गरे लाभांश, दशैंअघि नै सेयरधनी खुसी पार्दै

२२ भदौ, काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गर्न थालेका छन् । नेप्सेमा सूचीकृत रहेका वाणिज्य बैंकहरुमध्ये हालसम्म दुई वाणिज्य बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । केहि वाणिज्य बैंक भने दशैं अघि नै लाभांश बाड्ने तयारीमा रहेका छन् ।

दुई वाणिज्य बैंकले घोषणा गरे लाभांश

गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्नेमा माछापुच्छ्रे बैंक सबैभन्दा पहिला बनेको छ । यो बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  बैंकले उक्त लाभांश पारित गर्नका लागि असोज १० गते साधारण सभा बोलाएको छ । बैकलेको साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीमा वितरण हुनेछ ।

यस्तै एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १४ प्रतिशत नगद (नगद र बोनस सेयरमा लाग्ने कर समेत) र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित भइ वार्षिक साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । बैंकले साधारण सभाको सूचना प्रकाशित गरेको छैन् । यस बैंकले पनि दशैं अघि नै साधारणसभा गर्ने तयारी गरेको छ । यी बैंकहरूले दशै अघि नै सेयरधनी खुसी पार्न लागेका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार ११:५२