बीमा प्राधिकरणद्वारा ‘बीमकको लगानी सम्बन्धी निर्देशन २०८२’ जारी, यी क्षेत्रमा बढाइयो दायरा
१८ भदौ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । नियमनकारी निकाय बीमा प्राधिकरणबाट जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरुको वित्तीय स्रोतको लगानीको दायरा विस्तार गर्दै भदौ १७ गते स्वीकृत गरी उक्त निर्देशिका जारी गरेको हो ।
निर्देशिका अनुसा जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरूले आफ्ना कोषको लगानी व्यवस्थापन अझ स्पष्ट र व्यवस्थित ढंगले गर्नुपर्नेछ । निर्देशिकाले बीमा कम्पनीलाई पोर्टफोलियोअनुसार कोष र सम्पत्तिको अलग–अलग व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ । साथै, सेयरधनी कोष र बीमा कोषमार्फत भएका सम्पत्ति खरिद तथा लगानीको लेखांकन पनि छुट्टै गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थामा गरिएको मुद्दति निक्षेप बीमा प्राधिकरणको नाममा एअरमार्क गर्नुपर्ने नयाँ नियम पनि थपिएको छ ।
निर्देशिका अनुसार बीमा कम्पनीहरुले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्रमा कुल लगानीको ३५ प्रतिशत लगानी गर्न पाइने व्यवस्था गरेको छ । यस अघि यसमा २५ प्रतिशतसम्म मात्र लगानी गर्न पाइने व्यवस्था गरिएको थियो । प्राधिकरणले लगानी निर्देशिक संबशोधन गरेर १० प्रतिशत बढाएको छ ।
साथै, प्राधिकरणले ‘क’ वर्गका बैंक तथा पूर्वाधार विकास बैंकमा बीमा कम्पनीहरुले गर्न पाउने लगानीको दायरा ३० प्रतिशत कायम गरेको छ । साथै, ‘ख’ वर्गका बैंक तथा विकास बैंकमा १५ प्रतिशत र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा ७ प्रतिशत लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।
बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशीकाले सूचीकृत कम्पनीहरुको साधारण शेयरमा गर्नपाइने लगानीको दायरा ५ प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याएको छ । यसअघि बीमा कम्पनीहरुले आफ्नो कुल लगानीयोग्य रकमको १० प्रतिशतमात्र सूचीकृत कम्पनीहरुमा लगानी गर्न पाउने व्यवस्था गरिएको थियो । संशोधित निर्देशिका अनुसार शेयर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत भन्दा बढी हुनेगरी लगानी गर्न नपाइने बताएको छ ।
नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा बढीमा ५ प्रतिशतसम्म, घरजग्गा व्यवसायमा बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाइने उल्लेख छ ।
प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १२:३२












