एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदका लागि आवेदन दिने म्याद थप
१८ भदौ, काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्डको इकाई बिक्रीका लागि आवेदन दिने म्याद थप गरिएको छ । हिमालयन लाइफ कोष प्रवद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजना’को ४० करोड इकाइको बिक्री आवेदन गत भदौ १५ गतेदेखि खुला भएको थियो ।
यो योजनाका इकाई खरिदका लागि भदौ १८ गतेसम्मको म्याद दिइएको थियो । तर अब सो फण्डको इकाई खरिदका लागि भदौ २९ गतेसम्म आवेदन दिन सकिने भएको छ। यद्यपि, पर्याप्त आवेदन परेको खण्डमा सो मितिभन्दा अगावै निष्काशन बन्द गरिने बिक्री प्रबन्धकले जनाएको छ।
यो योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २० करोड इकाई कोष प्रवद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सलाई सुरक्षित राखि बाँकी रहने २० करोड इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ४ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार ०९:३३














