रमा शर्मालाई ‘पद्मश्री साधना सम्मान’ र अभि सुवेदीलाई ‘पद्मश्री गौरव पुरस्कार’
१५ भदौ, काठमाडौँ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०८१ को ‘पद्मश्री साधना सम्मान’ र ‘पद्मश्री गौरव पुरस्कार’ को घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष जीवना लामिछानेले अाइतबार बिहान एक विज्ञप्ति मार्फत रमा शर्मालाई ‘पद्मश्री साधना सम्मान’ र अभि सुवेदीलाई ‘पद्मश्री गौरव पुरस्कार’ दिने निर्णय भएको जानकारी दिनुभएको छ । यस्तै ‘पद्मश्री साहित्य पुरस्कार’ २०८१ रमेश भुसालको ‘छालबाटो’ले प्राप्त गरेको छ । तीनवटै पुरस्कार र सम्मानको राशी जनही तीन लाख रूपैयाँ नगद र सम्मानपत्र रहेको छ ।

प्रत्येक वर्ष नेपाली साहित्य, संगीत र कलाको क्षेत्रमा दीर्घसाधना गरेर उत्कृष्ट योगदान पुर्याएका दीर्घसाधकलाई प्रदान गरिने पद्मश्री साधना सम्मान यस वर्ष नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरिएको छ । आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित रमा शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन् ।
त्यसैगरी, समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएवापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ यस वर्ष प्रा. डा. अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली र अङ्ग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा. डा.अभि सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन् । उहाँ साहित्य सिर्जना तथा समसामयिक लेखनमा अत्यन्तै सक्रिय हुनुहुन्छ । यी पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिनेछ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार ०७:२३












