महिला हिंसाविरूद्धको मैत्रीपूर्ण फुटबलः चलचित्र कलाकार संघलाई हराउँदै पत्रकार महासंघको शानदार जित
काठमाडौँ । तीजको पूर्वसन्ध्यामा साथी संस्थाले आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल पत्रकार महासंघ विजयी भएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा पत्रकार महासंघले नेपाल चलचित्र कलाकार संघलाई ५–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
पत्रकार महासंघका लागि शिशिर बस्नेतले ह्याट्रिक गर्दै ३ गोल गर्नुभयो भने आशिष पुडासैनी र अनिष श्रेष्ठले १–१ गोल गर्नुभएको थियो । पत्रकार महासंघका तर्फबाट उपाध्यक्षद्धय नितु पण्डित र उमिद वागचन, सचिव वैकुण्ठ पराजुली, काेषाध्यक्ष रामकृष्ण अधिकारी, केन्द्रीय सदस्य पवित्रा मुडभरी लगायतले सहभागिता जनाउनुभएको थियो ।
यस्तै, कलाकार संघतर्फ गायक दुर्गेश थापा, मोहन निरौला, शंकर विसी, रविन्द्र खड्का, रोशन श्रेष्ठलगायतका चर्चित कलाकार, मोडेल र खेलप्रेमीहरूले सहभागिता जनाउनुभएको थियो । प्रतियोगितामा महिला र पुरुष दुवैको सहभागिता थियो ।
उपाधि विजेता नेपाल पत्रकार महासंघले उपाधिसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता चलचित्र कलाकार संघले ३५ हजार रुपैयाँ नगद पुरस्कार हात पारेको छ ।

प्रतियोगिताको नारा थियो, “हाम्रो सामुहिक गोलः महिला र बालबालिका हिंसाको अन्त्य” र “महिलाको सम्मान गरौँ, आदर्श पुरुष बनौं” । साथी संस्थाले विगत १० वर्षदेखि तीज पर्वलाई अधिकार, समानता र सशक्तिकरणसँग जोड्दै यसरी सामाजिक सन्देशसहितका गतिविधि गर्दै आएको हो ।
यसअघि साथी संस्थाद्वारा आयोजित १०औं तीज संवाद कार्यक्रम पनि सम्पन्न भएको थियो । सो संवादमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, र नेपाली फुटबल प्रशिक्षक राजु काजी शाक्य सहभागी हुनुभएको थियो । वक्ताहरूले छोरीको जन्मलाई उत्सवपूर्वक स्वागत गर्ने, महिलाको आर्थिक सशक्तिकरण गर्ने, घरायसी काममा समान जिम्मेवारी बाँड्ने तथा परिवर्तन आफ्नै घरबाट सुरु गर्ने सन्देश दिनुभएको थियो ।
संवादको सहजीकरण सिड कमिटीका सदस्य बन्दना राणाले गर्नुभएको थियो । सदस्य राणाले साथीको पहलमा यस्तो महत्वपूर्ण सम्पन्न गर्न पाउँदा गर्व लागेको बताउनुभयो । उहाँले यो कार्यक्रम संस्कार, धर्म र परम्परासँग जोडिएका हानिकारक अभ्यासहरूबारे चेतना जगाउने प्रयास भएको समेत उल्लेख गर्नुभयो ।
हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’ ले खेलको कमेन्ट्री गरेर रंग थपे भने लाइफ ओके टेलिभिजनले दुबै कार्यक्रम प्रत्यक्ष प्रशारण गरेको थियो ।
हेर्नुहाेस् तस्वीरः


प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १२:१०












