शेर्पा समूदायको अपमान गरेको भन्दै १७ पर्यटन व्यवसायीले छाडे एमालेको संगठन
९ भदाै, काठमाडाैँ । सत्तारूढ नेकपा एमाले निकटको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका शेर्पा समूदायका १७ जना व्यवसायीले सामूहिक राजीनामा दिएका छन । संगठनका अध्यक्ष राजेन्द्रप्रसाद सापकोटासहितका नेताहरूले शेर्पा समूदायको अपमान हुनेगरी अभिव्यक्ति दिएको भन्दै उपाध्यक्ष ङावा ङिमा शेर्पाको नेतृत्वमा १७ व्यवसायीले एकै पटक संगठन छाडेका हुन ।

उनीहरूले नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन छाडे पनि एमालेप्रतिको प्रतिवद्धता कम नहुने बताएका छन । विज्ञप्तिमा भनिएको छ, ‘आजदेखि हामी शेर्पा समुदायका प्रतिनिधिहरू नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनद्वारा आयोजना गरिने कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रममा सहभागी हुनेछैनौं। यद्यपि, हाम्रो मूल राजनीतिक आस्था नेपाल कम्युनिस्ट पार्टी (एमाले)प्रति दृढ रूपमा कायम छ। हामी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नीति, विचार र मार्गदर्शन अनुरूप भविष्यमा पनि पर्यटन तथा पर्वतारोहण क्षेत्रको समावेशी, पारदर्शी र उत्तरदायी विकासमा सक्रिय रहनेछौं।’
राजिनामाको जानकारी एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, उद्योग तथा व्यवसाय महासंघ अध्यक्ष भागिरथ सापकोटा लगायतलाई बोधार्थ दिइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार २०:४३









