प्रि आईपीओ नाममा सर्वसाधारणलाई सेयर बिक्री नगर्न, नगराउन धितोपत्र बोर्डको अपिल
९ भदाै, काठमाडाैँ । प्रि आईपीओ नाममा सर्वसाधारणलाई सेयर बिक्री नगर्न, नगराउन नेपाल धितोपत्र बोर्डले अपिल गरेको छ । सोमबार सूचना जारी गर्दै बोर्डले यस्तो अपिल गरेको हो ।
अनुमति प्राप्त नगरी सार्वजनिक रुपमा संगठित संस्थाको सेयर खरिद बिक्री सम्बन्धी कार्य नपाइने भन्दै बोर्डले सचेत समेत गराएको छ । बोर्डले सूचनामा भनेको छ, ‘सार्वजनिक निष्कासन नभएका विभिन्न संगठित संस्थाहरूको शेयर Pre-IPO को नाममा सामाजिक सञ्जाल (Whatsapp, Viber, Facebook Group), Email तथा SMS मार्फत उक्त कम्पनीहरूको निकट भविष्यमा नै सार्वजनिक निष्कासन गरिने भन्दै सर्वसाधारणलाई शेयर किन्न प्रस्ताव गरी अनाधिकृत रुपमा पैसा उठाइरहेको/लिइरहेको उक्त कार्य तत्काल रोक्न लगानीकर्ताबाट बोर्डमा गुनासो प्राप्त भएको सन्दर्भमा यस विषयमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ ।’
यस्तै बोर्डले भनेको छ, ‘प्रचलित कानुनमा Pre-IPO सम्बन्धी कुनै व्यवस्था नरहेको र धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) मा संगठित संस्थाले एक पटकमा पसार जन्ता भन्दा बढी व्यक्तिहरूसँग धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यसको धितोपत्र बिक्री वितरणको निम्ति सार्वजनिक निष्कासन गर्नुपर्ने भन्ने व्यवस्था रहेको व्यहोरा जानकारी गराइन्छ । बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रुपमा संगठित संस्थाको शेयर खरिद/बिक्री सम्बन्धी कार्य नगर्न/नगराउन सूचित गरिन्छ । त्यस्तै धितोपत्र सम्बन्धी ऐन, २०६३ ले गरेको व्यवस्था विपरीत यस प्रकारको कार्य गर्न/गर्न दिने व्यक्तिको यस्तो क्रियाकलापमा संलग्न नभई सधैं सजग रहनुहुन सम्पूर्ण लगानीकर्तालाई यस्तो कार्यमा सहभागी नहुन बोर्ड अनुरोध गर्दछ ।’

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार १८:३६












