विचौलियाको बलमा बीमा प्राधिकरणको अध्यक्ष बन्न पुगेका शरद ओझा पदमुक्त
२ भदौ, काठमाडौं । विचौलियाको बलमा बीमा प्राधिकरणको अध्यक्ष बन्न पुगेका शरद ओझा पदमुक्त भएका छन । विचौलियाको म्यान्डेड बोकेर नियामक निकायको दुरूपयोग गर्न कीर्ते कागज तयार गरेर नियुक्तिको योग्यता तयार गरेको पाइएपछि ओझा पदमुक्त भएका हुन ।
सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षबाट शरद ओझालाई पदमुक्त गरेको हो । यसअघि मन्त्रीपरिषद्को बैठकले नै उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानविन समिति गठन गरेको उनको योग्यताका बारेमा अनुसन्धान गरेको थियो । त्यसक्रममा उनले कीर्ते कागजात तयार गरेर योग्यता पुर्याएको पाइएको थियो ।

उक्त समितिको प्रतिवेदन अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गरेको हो । त्यसअघि उनी विचौलिया दीपक भट्टको प्रतिनिधिको रूपमा बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त हुन पुगेका थिए ।
ओझा अध्यक्षमा नियुक्त भए लगत्तै अर्थ सरोकार, बीमा पोस्ट लगायतका सञ्चार माध्यम र पत्रकार सुरज प्याकुरेल लगायतले ओझाको नियुक्तिका बारेमा सार्वजनिक रूपमा प्रश्न उठाउनु भएको थियो । पछि १७ चैतमामा योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले रिट दायर गर्नुभएको थियो ।
उक्त रिटमाथिको सुनुवाइ अहिले पनि जारी रहेको छ । बीमा क्षेत्रको नियमनमा विभिन्न स्वार्थपूर्तिका लागि अध्यक्ष बनाइएका शरद पदमुक्त भएपछि विचाैलियाहरूकै बेहाल भएको छ । शरद विचाैलियाहरूबाट प्राधिकरणको अध्यक्षमा बोकिनुअघि सञ्चारकर्मी थिए । उनी नेपाली कांग्रेसको कोटामा प्राधिकरणको नेतृत्वमा पुगेका थिए ।
(प्राधिकरण हुनुपर्नेमा अन्यथा भएकाले शीर्षक र समाचार दुबैमा उक्त शब्द क्षमायाचनासहित सच्याइएको छ । सम्पादक)
प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार २२:५०












