नुवाकोटमा आत्महत्या गरेका शिक्षकको शोक मनाउन आदेश जारी, आज सबै विद्यालय बन्द
२ भदौ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाको सरकार अस्वभाविक जस्तो देखिने निर्णय र आदेशमा निकै अघि छ । बेलकोटगढीमा एक जना आत्महत्या गरेका शिक्षकको शोकमा नगरपालिकाभरका सबै ५४ विद्यालय बन्द गरेर शोक मनाउने आदेश जारी भएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक थिङ्ले आदेशको जानकारी दिँदै भदौ २ गते सबै विद्यालय बन्द हुने र आत्महत्या गरेका शिक्षकको शोक मनाउने सूचना दिनुभएको छ ।
बेलकोटगढी नगरपालिकाको वडा नम्बर १२ स्थायी घर भएका शिक्षक एकराम सिलवालले साउन २० गते आत्महत्या गर्नुभएको थियो । आत्महत्याको दुईदिनपछि नगरपालिकाले शोक विज्ञप्ति जारी गर्दै शोक मनाउने आदेश भएको भन्दै भदौ २ गते सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय भएको सूचना दिएको थियो ।
आत्महत्या गरेको शिक्षकको अन्त्येष्टिको १४ दिनमा नगरपालिकाले कस्तो शोक मनाउन खोजेको हो भनेर प्रश्न उठेको छ । सामान्यतया शोकविदा मृत्युको दिन वा भोलिपल्ट दिने प्रचलन हुन्छ । तर बेलकोटमा शिक्षकको आत्महत्याको समयमा विद्यालयहरू बन्द रहेका कारण भदौ २ गते विद्यालय खुलेको दिन विदा दिने आदेश जारी भएको छ ।

कामचोर शिक्षक र कर्मचारीका लागि यसरी आत्महत्या गरेका शिक्षकको शोक मनाउन आदेश दिने को रहेछन भनेर दैनिकीले बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरूङसँग चासो राख्दा उहाँले आदेश दिएको नभइ छलफलसम्म गरेको कुरा स्वीकार गर्नुभयो । एउटा शिक्षकको सम्मन होस भनेर विद्यालय बन्द गरिएको उहाँले बताउनुभयो ।
एउटा विद्यालयको शिक्षकले आत्महत्या गर्दा नाम पनि नसुनेका नजानेका अन्य ५३ विद्यालयका विद्यार्थीले चाहिँ किन शोक मनाउनुपर्ने त भन्ने दैनिकीको प्रश्नमा प्रमुख गुरूङले प्रधानाध्यापक भएकाले पालिकाभर नै शोक बनाउन विद्यालय बन्द गर्ने छलफल भएको बताउनुभयो ।
यही बेलकोटगढीमा विगतमा नगरपालिकाका प्रमुख र उपप्रमुख युनोप्स भन्ने संस्थाको स्पोन्सरमा भारतको हरिद्धार घुम्न जाँदा नगरपालिकाभर उत्सव विदाको रूपमा सार्वजनिक विदा दिइएको थियो । पछिल्लो समय घुस र अनेक कमिसनका काण्डले चर्चामा रहेको नगरपालिका फेरि आत्महत्या गरेका शिक्षकको १४ दिनपछि नगरपालिकाभर विद्यालय बन्द गरेर शोक मनाएर चर्चामा आएको छ ।
एकराम शिक्षकमात्र नभएर नेपाली कांग्रेसको स्थानीय नेता समेत हुनुहुन्थ्यो । अहिले बेलकोटगढीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकार रहेको छ । उनीहरूले चुनाव नै गठबन्धन गरेर जितेका थिए । यद्यपी कार्यपालिकाको चुनावमा एमालेले समेत आफ्नो उम्मेदवार उठाएर कांग्रेसका उम्मेदवारका लागि भोट बेचेको थियो । (यसअघि आत्महत्या स्थानका सम्बन्धमा फरक ठाउँ परेकाले क्षमायाचनाहित सच्चयाइएको छ-सम्पादक)

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार ०७:४६












