२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ६ अर्ब ७५ करोड, खराब कर्जा बढ्यो

३० साउन, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आवको चौथो त्रैमाससम्म ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा भने ६४.४३ प्रतिशत धेरै हो । अघिल्लो वर्ष पनि बैंकले ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ०.७३ प्रतिशत घटेर १७ अर्ब ६४ करोड १९ लाख रुपैयाँमा पुगेको छ। यद्यपि खुद शुल्क तथा कमिसन आम्दानी २३.९१ प्रतिशत बढेर २ अर्ब २० करोड ३२ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने ५८.६६ प्रतिशतले बढेर १० अर्ब १४ करोड २७ लाख रुपैयाँमा पुगेको छ।

अघिल्लो आवको चौथो त्रैमाससम्म ५ अर्ब ६९ करोड रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा ४९ करोड १३ लाख रुपैयाँले धनात्मक बनेको छ । यस्तै बैंकको लाभांश क्षमता १.४४ प्रतिशत पुगेको छ । अघिल्लो आवमा ४.९१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ५.८५ प्रतिशत कायम भएको छ ।

गत असारसम्ममा बैंकको निक्षेप १७ प्रतिशत बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ भने कर्जा १८ प्रतिशत बढेर ३ खर्ब २६ अर्ब ९३ करोड रुपैयाँमा पुगेको छ।  समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १२.०४ रुपैयाँबाट बढेर १९.८० रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ २३१.०२ र मूल्य आम्दानी अनुपात ११.६७ गुणा रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १०:३७