ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड, वितरणयोग्य मुनाफा ५ अर्ब बढी
२८ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशतले घटेर १६ अर्ब ७१ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवमा बैंकले १६ अर्ब ८५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी १६ अर्ब ९७ करोड र सञ्चालन मुनाफा ८ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।
३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १४ रुपैयाँ ११ पैसा रहेको छ।
बैंकको खराब कर्जा अनुपात केही बढेर ४.८७ प्रतिशत पुगेको छ । अघिल्लो आवमा बैंकको खराब कर्जा अनुपात ४.१७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २८ पैसा, प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात १५.९५ गुणा रहेको छ।
प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार ०९:५१












