नुवाकोटकको तारकेश्वर गाउँपालिकामा खुलेआम चल्छ घुस तर पनि बोल्दैन कोही
२३ साउन, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अविरलले भ्रष्टाचारमा ‘लोकल ब्राण्ड’ बनाइरहेका छन । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापाकै शैलीमा अधिकारीले पनि मौलिक ढंगले भ्रष्टाचारको ‘लोकल ब्राण्ड’ बनाइरहेका हुन ।
जिल्लाका १२ स्थानीय तहमध्ये सबैभन्दा विवादित सरकार अधिकारीले नेतृत्व गरेको तारकेश्वरकै छ । अधिकारीले कानुन र संविधानका प्रावधानलाई निरन्तर चुनौति दिँदै अघि बढीरहेका छन । यसरी भ्रष्टाचारको ‘लोकल ब्राण्ड’ बनाइरहेका अधिकारीमाथि उनलाई टिकट दिने नेपाली कांग्रेस, चुनाव जिताउन मत दिने नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बेलगाम छाडेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायहरूमा उजुरीहरू परे पनि चासोपूर्वक सुनुवाइ भने भएको छैन । जसका कारण अधिकारी तीन वर्षदेखि भ्रष्टाचारको ‘लोकल ब्राण्ड’ बनाउने अभियानमा सफल भैरहेका छन ।
तारकेश्वर गाउँपालिकामा योजनाहरू बन्ने तर कामै नगरी भुक्तानी हुने मुख्य समस्या रहेको छ । जसको नेतृत्व पनि अधिकारीले नै गरिरहेका छन । अधिकारीकै संलग्नता भएको एउटा घुस काण्ड पुष्टि हुने अडियो केही दिनअघि सार्वजनिक भएको छ । पत्रकार रूपा अर्यालले उक्त घुस काण्ड बाहिर ल्याउन सफल भूमिका निर्वाह गरेकी छिन ।

पछिल्लो घुस काण्डमा अधिकारीकै संलग्तामा तरकारी पकेट कार्यक्रमको बजेट काम नै नगरी झ्वाम पारिएको छ । आर्थिक वर्ष २०८१/०८२ को संघीय सरकारको शसर्त अनुदान कार्यक्रम अन्तर्गत नयाँ तरकारी पकेट विकास कार्यक्रमको १२ लाख रकम अध्यक्ष अधिकारीले दर्शनटार कृषि सहकारीको नाममा सम्झौता गरि भुक्तानी दिलाएका थिए ।
जसमा दर्शनटार कृषि सहकारीको नाममा गाउँपालिकाले ९ लाख १९ हजार भुक्तानी गरेको छ । गाउँपालिकाबाट कामै नगरी भुक्तानी लिएको पैसा सहकारीका व्यवस्थापक चन्द्र प्रसाद घिमिरेले गाउँपालिका अध्यक्ष शिव अधिकारीका लागि घुस बापत ३ लाख ५० हजार रूपैयाँ बुझाएका छन । योजना सम्झौता गर्ने तर कामै नगरी भुक्तानी दिएर घुस खानेमा अधिकारी निकै अब्बल मानिन्छन । गाउँपालिकाका धेरै योजनामा यस्तै भैरहेको स्थानीयको गुनासो छ । तर राजनीतिक दलहरू भने तैँ चुप र मै चुपको अवस्थामा रहेका छन ।
गत असार २५ गते सहकारीका व्यवस्थापक घिमिरेले गाउँपालिका अध्यक्षको घुस उनको स्वकीय सचिव पदमा कार्यरत रहेका मधु अधिकारीलाई गाउँपालिकाको कार्यालयमै पुगेर हस्तान्तरण गरेका थिए । जुन कुरा उनले पत्रकार अर्यालसँगको कुराकानीमा पनि स्वीकार गरेका छन ।
अध्यक्ष अधिकारीले पहिले नै घुस प्राप्त हुने निश्चित भएपछि सहकारीका लागि ९ लाख १९ हजार रूपैया निकासा गरेका थिए । उनले त्यसअघि अर्कै सहकारीमा पैसाको कुरा गरे पनि घुसको कुरा नमिलेपछि दर्शनटारसँग कुरा गरेका थिए ।३८ दशमलब ०८ प्रतिशत रकम पहिले नै घुस सुनिश्चित गरी अधिकारीले सहकारीको नाममा रकम निकासा गरेका थिए । जुन कुरा घिमिरेले अर्यालसँगको कुराकानीमा पनि पुष्टि गरेका छन ।
यो त एउटा सामान्य उदाहारण मात्र हो । तारकेश्वर गाउँपालिकामा यस्ता दशौँ घुस काण्ड छन जहाँ पहिल्यै नै कमिसन सुनिश्चित भएर भुक्तानी दिइएको छ । घुस दिन नमान्नेका लागि भुक्तानी पाउन कठिन छ । अधिकारीको भ्रष्टाचारमा गाउँपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरूको सहयोग झन डर लाग्दो रहेको छ । गाउँपालिका उपाध्यक्ष र गाउँ कार्यपालिकाका सदस्यहरूले भ्रष्टाचार र अध्यक्षको अराजकता बारेमा खासै प्रश्न उठाएको पाइदैन् ।
गत स्थानीय तहको निर्वाचनमा तारकेश्वर गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले विजय प्राप्त गरेको थियो । अध्यक्ष अधिकारीलाई लगाम लगाउनु पर्ने नेपाली कांग्रेसले थियो तर कांग्रेसकै नेताहरू पनि अध्यक्ष अधिकारीसँग आजित छन ।
दैनिकीले नेपाली कांग्रेस नुवाकोटका एक नेतासँग अधिकारीले बनाइरहेको भ्रष्टाचारको साम्राज्यका बारेमा प्रश्न गर्दा उल्टै उनले दुखेसो पोखे । उनले पहिचान नखोल्ने सर्तमा दैनिकीसँग भने, ‘हेर्नुस् सर भन्न पनि लाज हुन्छ । अधिकारीलाई पार्टीको नाममा केही भन्यो भने तिमीहरूले टिकट दिएको हो र भन्दै प्रतिप्रश्न गरेर मैले ३५ लाख रूपैयाँमा किनेको हो भन्नुहुन्छ । त्यसपछि मैले तिमीहरूको कसैको पनि कुरा सुन्नुपर्दैन् । मैले मेरै अुनसार काम गर्ने हो भनेर उल्टै हप्काउँनुहुन्छ । हामी त हायल कायल भैसक्याैँ । त्यो गाउँपालिकामा अबको चुनावमा कांग्रेसले वडा सदस्य पनि नजित्ने भैसकेको छ ।’
अधिकारी कांग्रेसभित्र डा प्रकाशशरण महत निकट भनेर चिनिन्छन । यद्यपी उनको स्थायी गुट छैन । अधिकारी कुनै समय पूर्व अर्थमन्त्री डा रामशरण महतलाई तारकेश्वरमा लगेर चार क्वायल पाइपमा फोटो खिचाएर पनि चर्चामा थिए । हामीले गउँपालिका अध्यक्ष अधिकारीलाई भ्रष्टाचारको लोकल ब्राण्डका बारेमा प्रश्न गर्न पटक पटक फोन गरे पनि उनले उठाएनन् । हामीले अध्यक्ष अधिकारी फोनमा सम्पर्कमा आउन नचाहेपछि म्यासेज मार्फत घुस र कमिसन गरी महिनामा कति उठाउने गर्नुभएको छ ? भनेर प्रश्न गरेका थियौँ उनले त्यसको पनि ४८ घण्टासम्म जवाफ दिएनन् ।
अधिकारीकै संरक्षणमा विद्यालयमा भ्रष्टाचार
गाउँपालिका अध्यक्ष अधिकारीकै संरक्षणमा गाउँपालिकाको वडा नम्बर ५ कल्लेरीडाँडास्थित शंखादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजाराम अधिकारीले लेखापालको किर्ते हस्ताक्षर गरी ६३ लाख ५८ हजार रूपैयाँ झ्वाँम पारेका छन ।
प्रधानाध्यापक अधिकारीले लेखापालको हस्ताक्षर कीर्ते गरी विद्यालयको रकम दुरूपयोग गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । तर आयोगको चासो र प्राथमिकतामा तारकेश्वरको भ्रष्टाचार पर्न सकेको छैन । पाँच महिनाअघि नै राजीनामा दिएर अध्ययनका लागि बेलायत पुगिसकेकी लेखापाल अनिता तामाङको हस्ताक्षर किर्ते गरेर लाखौँ रुपैयाँको आर्थिक कारोबार गरेको उनैले सामाजिक सञ्जाल मार्फत खुलासा गरिन ।
फौजदारी अपराध (सङ्हिता) ऐन, २०७४ मा दस्तावेज किर्तेसम्बन्धी स्पष्ट कानुनी प्रावधानहरू छन्। ऐनको भाग ५ अन्तर्गत उल्लेख भएअनुसार, कसैले गलत नाउँ, मिति वा जानकारी प्रयोग गरी कागजात बनाउने कार्य दस्तावेज किर्ते मानिन्छ र त्यसको सजायस्वरूप एक वर्षसम्म कैद, दश हजार रुपैयाँसम्म जरिवाना, वा दुवै हुन सक्छ। यस्तै, किर्ते कागजात प्रयोग गर्ने कार्य पनि कानुनतः अपराध हो, जसको लागि दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ। यी दुबै व्यवस्था अधिकारीको हकमा पनि आकर्षित हुन्छ तर गाउँपालिका अध्यक्ष र सिंगै कांग्रेस यस्तो घटना ढाकछोपमा केन्द्रीत भएको छ ।
यस घटनामा भने नेकपा माओवादी केन्द्र र नेकपा एमालेले संयुक्त विज्ञप्ति नै निकालेर सत्य तथ्य छानविन गरी कारबाही गर्न माग गरेका थिए । तर उनीहरूको माग पनि गाउँपलािका अध्यक्षसँगै भएकाले उनले टेर्ने कुरै भएन । किनकी उनले यस्तै सबै गतिबिधि आफ्नो जानकारीमा राखेरै गराउने गरेको गाउँपालिकाका एक कर्मचारीले दैनिकीसँग बताए । उनले अध्यक्ष अधिकारीले कर्मचारीहरूलाई समेत फरक व्यवहार गर्ने गरेको बताए ।
विगत पनि विवादित
अध्यक्ष अधिकारीको विगत पनि चरम विवादित छ । अधिकारीलाई नजिकबाट चिन्नेहरूका अनुसार उनले जिल्लामै अस्पताल खोल्नका लागि भनेर धेरै व्यक्ति र संस्थाहरूसँग चन्दा उठाएर सो पैसाले कठमाडौँमा आफ्नो घर बनाएका छन । चन्दाका नाममा अधिकारी निकै विवादित पात्र मानिन्छन । उनी गाउँपालिका अध्यक्ष हुनुभन्दा अघि आफूलाई पत्रकार भनेर पनि चिनाउने गर्थे । एउटा व्यवसायीको घरमा रूद्री पूजा गरेको समाचार लेखेर उनी चर्चामा आएका थिए ।सामाजिक सञ्जालमा केही शब्द व्यक्त गर्नुपर्दा समेत दोस्रो व्यक्तिको सहायता लिनुपर्ने अधिकारीको घुस काण्डहरू र सम्पत्ति समेत छानविन गर्नुपर्ने माग अहिले गाउँपालिकाका स्थानीयले गर्न थालेका छन ।
प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार २२:१७