१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

भोलिदेखि आईपीओ निष्काशन गर्दै झापा इनर्जी, क- कसले भर्न मिल्छ ?

१३ साउन, काठमाडौं । झापा इनर्जी लिमिटेडले भाेलि साउन १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको कुल सेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासिन्दाहरुमा बाँडफाँड गरिनेछ भने बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर सो क्षेत्र बाहेकका झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दाहरुमा बाँडफाँड गरिनेछ।

सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५७ लाख २ हजार ९०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५७ हजार २९ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन २८ गते हुनेछ भने ढिलोमा भदौ १२ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा साउन १८ गते हुनेछ भने ढिलोमा साउन २८ गते हुनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १४:४९