विशेष अदालतद्वारा माधव नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार
१२ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ ।
नेपालले राजनीतिक कार्यक्रममा देशको विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाई मुद्दामा वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिनुभएको थियो । उक्त निवेदनउपर सोमबार विशेष अदालतका न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा सुनुवाइपछि वारेस सुविधा दिन अस्वीकार गरेको हो ।
आदेशमा भनिएको छ, ‘तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसुरको अभियोग लागेको देखियो । तसर्थ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा (१) को खण्ड (क) को व्यवस्थाअनुसार यी प्रतिवादीलाई वारेस राख्ने अनुमति प्रदान गर्न मिलेन ।’
प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १७:३५









