वैदेशिक रोजगारीमा रहेकाले बुङ्गल हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन, स्थानियका लागि म्याद थप
११ साउन, काठमाडौं। बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (साउन ११ गते) अन्तिम दिन रहेको छ भने स्थानिय बासिन्दाका लागि आवेदन दिने म्याद लम्बिएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अब कम्पनीको आईपीओमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात १०० रुपैयाँ अंकित मूल्यका कुल २९ करोड ५ लाख रुपैयाँ बराबरको कुल २९ लाख ५ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको हो । जसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरिएको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र अर्थात सुदूर पश्चिम प्रदेश, बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट, गाविस वडा नं. ४, ५ र ७० र वडा नं. ७ )साविक कफल्सेरी गाविस वडा नं। १० का बासिन्दाहरुमा बाँडफाँड गरिनेछ भने बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र अर्थात बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरुका लागि सुरक्षित गरिएको छ ।
यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको २ लाख ७ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरिएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
स्थानिय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१, कृषि विकास बैंक, बुङ्गल नगरपालिका, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका र आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार ०९:३५














