२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नुवाकोटमा १ लाख ९५ हजारमै हेल्थ असिस्टेन्ट र डिप्लोमा इन फार्मेसी पढ्न पाइने

७ साउन, नुवाकोट । १ लाख ९५ हजारमै हेल्थ असिस्टेन्ट र डिप्लोमा इन फार्मेसी पढ्न पाइने किस्पाङ बहुप्राबिधिक शिक्षालयमा भर्ना खुलेको छ । नेपालमै पहिलो पटक गाउँपालिकाहरू मध्ये नुवाकोटको किस्पाङ गाउँपालिकाले सञ्चालनमा ल्याएको किस्पाङ बहुप्राविधिक शिक्षालयमा यस वर्षका लागि भर्ना खुलेको शिक्षालयका प्रिन्सिपल विनोद न्यौपानेले दैनिकीलाई जानकारी दिनुभयो ।

प्रिन्सिपल न्यौपानेले तीन वर्षको हेल्थ असिस्टेन्ट र डिप्लोमा इन फार्मेसीको कोर्स जम्मा १ लाख ९५ हजारमा पढ्न पाइने बताउनुभयो । उहाँले प्राबिधिक शिक्षा लिन चाहने तर आर्थिक हैसियत कमजोर रहेका विद्यार्थीहरूले यसबाट बढी भन्दा बढी लाभ लिन सक्ने बताउनुभयो ।

dainiki.com

निजी कलेजहरूमा पढ्दा झण्डै पाँच लाख रूपैयाँ खर्च हुने कोर्स १ लाख ९५ हजारमै पढाउन किस्पाङ गाउँपालिकाले सम्भव बनाएको गाउँपालिकाका प्रवक्ता प्रकाश डिम्डुङले जानकारी दिनुभयो । उहाँले यसमा नाफा भन्दा पनि सामाजिक उत्तरदायित्वलाई ध्यान दिएको बताउनुभयो । प्रवक्ता डिम्डुङले विद्यार्थीको सिकाइ र नतिजामा समेत प्रभावकारी सुधार हुँदै आएको जानकारी दिनुभयो । उहाँले दुबै विषयमा ४०/४० सिटको कोटा तोकिएको बताउनुभयो ।

किस्पाङ–३ काहुलेमा रहेको शिक्षालयमा शैक्षिक सत्र २०८२/०८३ का लागि हेल्थ असिस्टेन्ट र डिप्लोमा इन फार्मेसीका लागि भर्ना आह्वान गर्दै १ लाख ९५ हजारमै पढ्न पाइने सूचना जारी गरेको छ । साउन २५ गतेसम्मका लागि आवेदन खुल्ला रहने प्रिन्सिपल न्याैपानेले बताउनुभयो ।

छनोट भएका विद्यार्थीले ३ वर्षका लागि १ लाख ९५ हजार शुल्क बुझाउनुपर्नेछ । शिक्षालयमा शान्त बातावरण, दक्ष तथा अनुभवी प्रशिक्षक, न्युनतम शुल्क, प्रशस्त प्रयोगात्मक अभ्यास र आफ्नै छात्रावासको व्यवस्था समेत रहेको छ ।  किस्पाङ बहुप्राबिधिक शिक्षाकालयका लागि तत्कालका लागि ४२ कोठे छात्राबास भवन र २१ कोठाको ल्याब र लाइब्रेरी रहेका छन ।

करिब पाँच करोडको लगानीमा शिक्षालयले आफ्नै भवन समेत निर्माण गरिरहेको प्रिन्सिपल न्यौपानेले जानकारी दिनुभयो । समूदाय र स्थानीय सरकार दुबैको सकारात्मक सहोगका कारण शिक्षालय थप प्रभावकारी बन्दै गएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार २१:२३