गरिमा विकास बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
५ साउन, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको केही संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ४७ हजार ८३४.६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार ०९:३५












