१०० रुपैयाँ मै राप्ती हाईड्रोले ७ लाख ४ हजार कित्ता हकप्रद सेयर बिक्री गर्दै
५ साउन, काठमाडाैं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्ने भएकाे छ । कम्पनीले गत असार १ गतेदेखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
उक्त सेयरमध्ये सर्वसाधारण समूहको ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा रहेको १ लाख ४० हजार १०१ कित्ता रहेको छ । कम्पनीले यही साउन १३ गतेदेखि उक्त सेयरहरु बिक्री गर्ने भएकाे छ ।
बिक्रीमा राखिने सेयरमा जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । साे सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि साउन २० गतेसम्म खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु,ठिमी–भक्तपुर,कुमारीपाटी–ललितपुर, विर्तामोड, विराटनगर,विरगञ्ज, जनकपुर,हेटौडा, नारायणगढ,पोखरा, बाग्लुङ,बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर,धनगढी र महेन्द्रनगरबाट आवेदन पेश गर्न सक्नेछन् ।
प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार ०९:२३














