१३ लाख कित्ता आईपीओ निष्कासन गर्दै एशियन ब्याट्रीज
१ साउन, काठमाडौं । नेपालको ऊर्जा तथा औद्योगिक आत्मनिर्भरता क्षेत्रमा क्रियाशील एशियन ब्याट्रीज लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ ।
यसका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । २०७८ असार ३१ गते काठमाडौंमा सम्पन्न सम्झौता समारोहमा हिमालयन क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र एशियन ब्याट्रीज लिमिटेडका अध्यक्ष सुरेश लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उद्योगको जारी पुँजी ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीले सोको २० प्रतिशत अर्थात १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । यसले एशियन ब्याट्रीजलाई नेपालकै भरोसायोग्य ऊर्जा समाधान प्रदायक कम्पनी बनाउने यात्रामा महत्वपूर्ण मोड थपेको कम्पनीको भनाइ छ ।
सन् २०१३ देखि व्यावसायिक उत्पादन सुरु गरेको एशियन ब्याट्रीज लिमिटेडको उत्पादन केन्द्र मोरङको बुढीगंगा गाउँपालिकामा छ भने सम्पर्क कार्यालय ललितपुरको सानेपामा अवस्थित छ । कम्पनीले सवारी साधन, इलेक्ट्रिक रिक्सा, मोटरसाइकल तथा सोलार प्रणालीमा प्रयोग हुने गुणस्तरीय लिड–एसिड ब्याट्री उत्पादन गर्दै आएको छ ।
प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १४:५४













