१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई नेपाल बैंकद्वारा ५ लाख बीमा रकम भुक्तानी

३१ असार, काठमाडाैं । नेपाल बैंक लिमिटेडले मकवानपुरको थाहा नगरपालिका–३ मा घटेको एक सडक दुर्घटनामा ज्यान गुमाएका रघुनन्दन यादवका परिवारलाई बीमा दाबी वापत रु ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

थाहा नगरपालिका वडा नं १ स्थित श्री झम्केश्वरी माविका शिक्षक तथा नेपाल बैंकको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहकसमेत रहेका यादवको मिति २०८२ साल जेठ १२ गते दुर्घटनामा परी निधन भएको थियो।

नेपाल बैंक लिमिटेडको तलब खाता अन्तर्गतको दुर्घटना बीमा सुविधाअनुसार, खाता खोलेको एक वर्षभित्र ग्राहकको दुर्घटनाजन्य मृत्यु भएमा रु ५ लाखसम्मको बीमा रकम प्राप्त हुने व्यवस्था अनुसार उक्त दाबी रकम भुक्तानी गरिएको हो।

बैंकले असार २२ गते एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयको उपस्थितिमा मृतककी पत्नी अमिरा कुमारी यादवलाई बीमा दाबी रकमको चेक हस्तान्तरण गरेको हो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे।

उनले बैंकले आफ्ना ग्राहकको वित्तीय सुरक्षा र सेवा सुविधालाई उच्च प्राथमिकता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सेवाहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

बीमा रकम प्राप्त गरेपछि स्व. यादवकी पत्नी अमिरा कुमारी यादवले गहिरो भावनात्मक प्रतिक्रिया दिँदै भनिन्, “दुखद घडीमा कुनै झन्झटबिना नेपाल बैंकबाट यस्तो राहत पाउँदा परिवारको भरणपोषणमा निकै सहयोग पुगेको महसुस भएको छ।” नेपाल बैंक लिमिटेडले ग्राहकमैत्री सेवासँगै जोखिम सुरक्षा कार्यक्रमहरू पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १६:०४