८ भाद्र २०८२, आईतवार | Sun Aug 24 2025

जलविद्युत आयोजनाको आईपीओ निष्कासन रोक्नु गलतः शेरबहादुर देउवा

३१ असार, काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युत आयोजनाहरूको आईपीओ निष्कासन रोक्नु गलत भएकाे बताउनुभएकाे छ ।  मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले जलविद्युत आयोजनाहरूको आईपीओ निष्कासन रोक्नु गलत भएको भन्दै धितोपत्र बोर्डले चाँडै सेयर निष्कासन गर्ने बताउनुभएकाे हाे ।

‘सेयर निस्कासन रोकिएको कुरा सुनेँ, धितोपत्र बोर्डले चाँडै सेयर निस्कासन गर्नेछ, यसलाई रोक्नु हुँदैन,’ उहाँले भन्नुभयाे । यसैगरी उहाँले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएकाे छ ।

देउवाले लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने बताउनुभयाे । ‘अहिले उत्पादित विद्युत खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो । यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ’ उहाँले भन्नुभयाे, ‘लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ । लगानीकर्तालाई दुःख दिने भन्नेकुरै छैन ।’

ऊर्जा क्षेत्र नेपालको लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले देशको प्राकृतिक स्रोतको सही उपयोग गर्न ऊर्जा विकासमा प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयाे। ‘यदि हामीले हरित ऊर्जामा ध्यान दिन सक्यौं भने नेपालका लागि त्यो लाभदायक हुनेछ,’ उहाँले भन्नुभयाे।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १३:३५