३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

मञ्जुश्री फाइनान्स बुटवल शाखाद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान तथा निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न

२९ असार, काठमाडाैं । बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी माविको परिसरमा नेपाल नियमित रक्तदाता संघद्वारा मञ्जुश्री फाइनान्स लिमिटेड, बुटवल शाखाको बैंकिङ्ग साझेदारीमा आयोजना गरिएको रक्तदान, मधुमेह परीक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा ८० जनाले रक्तदान गरे भने २९२ जनाले विभिन्न विशेषज्ञ चिकित्सकहरूसँग निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गरे। शिविरमा डा सुमन पौडेल (इएनटी विशेषज्ञ), डा राजीव शाह (स्त्रीरोग विशेषज्ञ), डा पटल गिरी (आन्तरिक रोग विशेषज्ञ) र डा सम्राट पराजुली (अस्थिरोग विशेषज्ञ) लगायतका चिकित्सकहरूले सेवा प्रदान गरेका थिए।

कार्यक्रमको अध्यक्षता दया बहादुर शिलबालले गर्नुभएको थियो भने विशिष्ट अतिथिका रूपमा मञ्जुश्री फाइनान्स बुटवल शाखाका शाखा प्रबन्धक सुबास अर्याल सहभागी भएका थिए।

कार्यक्रममा शाखा प्रबन्धक अर्यालले मञ्जुश्री फाइनान्स सामाजिक उत्तरदायित्वप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै यस्ता जनस्वास्थ्य सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, डा सुमन पौडेलले स्वास्थ्यप्रति सचेत रहनु र नियमित परीक्षणको महत्त्वमा जोड दिए। स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता र चिकित्सकहरूको सेवा भावनाले कार्यक्रमलाई सफल बनाएको आयोजक संघले जनाएको छ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १३:३०