७ आश्विन २०८२, मंगलवार | Tue Sep 23 2025

विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

२९ असार, काठमाडाैं । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत असार १८ गतेदेखि वैशाख २२ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ आज धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीमा रहेको कार्यालयमा बाँडफाँड भएको हो ।

प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २१ लाख ५० हजार ६७२ आवेदकबाट २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

यसमध्ये २० लाख ५६ हजार २०७ आवेदन सदर भएको र ९४ हजार ४६४ आवेदन बदर भएको छ । यसरी कुल सदर आवेदकबाट २ करोड ३६ लाख ५५ हजार ३७० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल सदर आवेदकमध्ये २ लाख ९४ हजार २७६ जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । भने बाँकी १७ लाख ६१ हजार ९३१ आवेदकको हात भने खाली भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका कुल २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ जारी गरेको थियो ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार ०९:४०