७ आश्विन २०८२, मंगलवार | Tue Sep 23 2025

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा यस्ता छन् नयाँ व्यवस्था

२७ असार, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लचिलो नीति अवलम्बन गरिएको बताउनुभयाे । दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख छ ।

मौद्रिक नीतिअनुसार ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई ६ प्रतिशत र नीतिगत दरलाई साढे ४ प्रतिशत कायम गरिएको छ । यसअघि बैंकदर साढे छ प्रतिशत र नीतिगत दर पाँच प्रतिशत थियो ।

यस्तै मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण तथा खरिद गर्नका लागि प्रवाह गरिने कर्जाको सीमा रू २ करोडबाट बढाएर रु ३ करोड कायम गरिएको छ । पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा-मूल्य अनुपात ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ ।

dainiki.com

यसैगरी यक्तिगततर्फको सेयर धितो कर्जाको सीमा रू १५ करोडबाट बढाएर रू २५ करोड पुर्‍याइएको छ ।

यस्तै विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा २ हजार ५ सय अमेरिकी डलरबाट बढाएर ३ हजार अमेरिकी डलर बनाइएको छ ।

यसैगरी आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १२ प्रतिशतले वृद्धि हुने लक्ष्य मौद्रिक नीतिले तय गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार १४:१७