३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

राष्ट्रवादी कथा बोकेको नेपाली चलचित्र ‘काँडेतार’ एडिलेडमा प्रदर्शन हुने, यस्तो छ समिक्षा

एडिलेड । नेपाली चलचित्र ‘काँडेतार’ आगामी जुन २०, २०२५ मा एडिलेडको द रेगल थिएटरमा प्रदर्शन हुने भएको छ। नवल खड्काको लेखन र निर्देशनमा बनेको यो चलचित्रले नेपाल-भारत सीमा विवाद र यसले नेपाली नागरिकमा पारेको प्रभावलाई मुख्य कथावस्तु बनाएको छ।

‘काँडेतार’ मा सामाजिक अन्याय, राष्ट्रियता, प्रेम र संघर्षको कथा प्रस्तुत गरिएको छ। युवा पुस्ता, महिला सशक्तिकरण र सामाजिक मूल्यबारे गहिरो विमर्श यस चलचित्रमा पाइन्छ।

यस चलचित्रले मुख्यतया नेपाल-भारतबीचको खुल्ला सीमा, सीमा अतिक्रमण, र यसबाट नेपाली नागरिकले भोग्नुपरेको पीडामा केन्द्रित छ। चलचित्रले सीमामा काँडेतार लगाएर सीमालाई व्यवस्थित गर्नुपर्ने र यसबाट भूमिको साथै नागरिकको पनि संरक्षण हुने धारणालाई उजागर गर्छ। यसले राष्ट्रिय स्वाधीनता, देशभक्ति र नेपाली जनताको प्रतिरोधलाई प्रस्तुत गरेको छ। चलचित्रमा सीमा क्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारबिरुद्धको आवाज उठाइएको छ। यद्यपि, यो एक देशभक्तिपूर्ण चलचित्र भए पनि यसमा यथार्थपरक प्रेम, संयोग र वियोगका पक्षहरूलाई पनि समेटिएको छ।

नेपालमा प्रदर्शनमा आएपछि ‘काँडेतार’ ले मिश्रित प्रतिक्रिया पाएको थियो। चलचित्रको राष्ट्रवादी भावना र समसामयिक विषयवस्तुको लागि प्रशंसा गरिएको थियो ।

चलचित्रमा नवल खड्काका साथै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रविन्द्र रञ्जन झा, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी, प्रशान्त यादव र बालकलाकार नादिया खड्का र सनया खड्का लगायतका कलाकारहरूको अभिनय रहेको छ। भने चलचित्रको कार्यकारी निर्माता सत्यकला राई, निर्माता मकिको राई, अन्जु केसी,नादिया खड्का, सनया खड्का रहेका छन् । 

चलचित्र ‘काँडेतार’ शिवरात्रीको अवसर पारेर २०२४ मार्च ८ मा नेपालभर प्रदर्शनमा आएको थियो।

समग्रमा, ‘काँडेतार’ नेपाली सीमा समस्या र राष्ट्रवादको विषयमा बनेको एक महत्वपूर्ण चलचित्र हो। एडिलेडमा यसको प्रदर्शनले प्रवासी नेपाली समुदायलाई आफ्नो मातृभूमिका मुद्दाहरूसँग जोड्न र राष्ट्रिय चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एडिलेडवासी नेपाली समुदायलाई यस राष्ट्रिय भावनाले ओतप्रोत चलचित्र हेरेर साथ दिन आयोजक यार्सा ईभेन्टका निर्देशक कौशल उप्रेतीले आग्रह गरेका छन्।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १३:४७