स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत
१८ जेठ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृत करार सेवामा नियुक्त गर्न विज्ञापन आह्वान गरेको छ । बोर्डले ९० दिनका लागि १८० जना मेडिकल अधिकृत मागेको हो ।
जनशक्ति अभावका कारण लामो समयदेखि रोकिएको मागदाबी रिभ्यु प्रक्रिया अघि बढाउन बोर्डले उक्त संख्यामा मेडिकल अधिकृत मागेको हो । उक्त पदका लागि एमबीबीएस उत्तीर्ण चिकित्सकले आवेदन दिन सक्नेछन्। योग्य उम्मेदवारहरूले सात दिनभित्र आवेदन दिनुपर्नेछ।
स्वास्थ्य बीमा बोर्डले विगत ११ महिनादेखि रोकिएको बीमा दाबीको रिभ्यु प्रक्रिया तीव्र बनाउन यी जनशक्ति खटाउने तयारी गरेको हो। १५ जेठको बजेट वक्तव्यमा सेवा प्रदायकको अहिलेसम्मको बक्यौता रकम फरफारक गर्ने सरकारले दाबी गरेको छ । सोही अनुसार बोर्डले जनशक्ति थप गर्न लागेको हो ।
हाल बोर्डमा २५ भन्दा बढी मेडिकल अफिसर, नर्स तथा फार्मासिस्टले रिभ्यु कार्यमा खटिएका छन्, तर जनशक्ति अपुग भएकोले अझै १६ अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबी भुक्तानी प्रक्रिया रोकिएको बोर्डले जनाएको छ। पछिल्लो पटक स्वास्थ्य सेवा विभागले छात्रबृत्तिका ३० बढी मेडिकल तथा नर्सिङ अधिकृत सो कार्यका लागि बोर्डमा पठाउने निर्णय गरेको छ ।
प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार १३:४०









