भर्ने होइन त ? ट्रेड टावरको आईपीओमा आजबाट आवेदन दिन सकिने
१४ जेठ, काठमाडौं । ट्रेड टावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८।६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा जेठ १९ गते र ढिलोमा जेठ २८ गते हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एलएस क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : 09:08









