४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

परराष्ट्रमन्त्री डा राणा जापान प्रस्थान

६ जेठ, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जापान प्रस्थान गर्नुभएको छ । भोलिदेखि जापानको टोकियोमा सुरू हुने ज्येष्ठ नागरिकमा देखिने सामाजिक एकान्ततासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको हो । मन्त्री राणाले नेपालका तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउन्डेसन फर द वेलफेयर एन्ड एजुकेसन अफ द एसियन पिपुल) ले आयोजना गर्ने सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्चअधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहनेछ ।

ग्रामीण महिला तथा विकास केन्द्र (रूडुक), सुरक्षित मातृत्व सञ्जाललगायत सङ्घसंस्थामार्फत नेपाली महिलाको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत रहनुभएकी मन्त्री डा राणालाई सो कार्यक्रमको विशेष वक्ताका रूपमा आमन्त्रित गरिएको हो ।

जापानमा रहँदा उहाँले महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ आगामी शनिबार स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार १२:०९