४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

राष्ट्रियसभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान

५ जेठ, काठमाडाैं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि आज अपराह्न चीनको शान्सी प्रान्तको सियान शहर तर्फ प्रस्थान गर्नुभएको छ ।

उपाध्यक्ष घिमिरे ८ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको हो । मित्रराष्ट्र चीनको शान्सी प्रान्तको सियान शहरमा यही जेठ ५ गतेदेखि १० गतेसम्म आयोजना गरिएको शाङ्घाई सहयोग संगठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च र नवौं सिल्क रोड अन्तर्राष्ट्रिय प्रदर्शनी र पूर्व र पश्चिम चीन बीच सहयोगको लागि लगानी तथा व्यापार मञ्च कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

दुबै कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधान गर्नुहुनेछ । उहाँसँगै प्रतिनिधिसभा सदस्यद्वय दिनेशकुमार यादव र उर्मिला माझी र राष्ट्रिय सभाका सदस्यद्वय बेदुराम भुसाल र सुमित्रा बिसी, संसद सचिवालयका उपसचिव पुष्पप्रकाश मल्ल, शाखा अधिकृत नविन भट्टराई र उपाध्यक्षका स्वकिय सचिब प्रेमबहादुर सिंह प्रतिनिधि मण्डलमा सहभागी हुनुहुन्छ । चीन भ्रमण सकेर जेठ १० गते प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार १६:०९