सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा २९ करोड ५७ लाख, प्रतिसेयर आम्दानी कति ?
१२ वैशाख, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षकोतेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९० प्रतिशत बढेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ४२ लाख रुपैयाँ खुद नाफा नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सले ७ अर्ब ५१ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७.८५ प्रतिशतले बढी हो । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २०.१६ प्रतिशत बढेको छ भने कुल खर्च १७.६० प्रतिशत बढेको छ।
चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ३९ करोड १९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४२ करोड १९ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ९९ लाख रुपैयाँ रहेको छ। नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ २९ पैसा बढेर ७ रुपैयाँ ८७ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४१ पैसा रहेको छ।
प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार ११:१६