राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
१० वैशाख, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले वैशाख ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा माग बमोजिम आवेदन नपरेकाले यो ऋणपत्रमा आवेदन दिने समय वैशाख २१ गतेसम्म लम्बाइएको हो ।
बैंकले ७ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर पाइने ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ निष्काशन गरेको छ । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।
सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले ९ लाख ५० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार ०९:४९