कोरियन भाषा परीक्षाको आवेदन आजदेखि खुला, फारम भर्न के चाहिन्छ ?
८ चैत, काठमाडौँ । सरकारले सन् २०१९ को कोरियन भाषा परीक्षाको आवेदन फारम आज (चैत ९) देखि खुला गरेको छ । यस पटक ७ हजार १ सयले कोरिया जाने अवसर पाउँदैछन । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गर्नुपर्छ । कोरिया ईपीएस शाखाका अनुसार बिहीबार बिहान ९ बजेदेखि अनलाइन आवेदन फारम खुला हुनेछ ।
यसरी खुला भएको अनलाइन आवेदन फारम यही चैत १७ गते राति १२ बजेसम्म भर्न पाइनेछ । यसका लागि शाखाले सम्पूर्ण तयारी पूरा गरेको छ । शाखाले अनलाइन फारम भर्दा कुनै समस्या नहोस् भनी आठ जनाभन्दा बढी इन्जिनियर २४ सै घन्टा सम्पर्कमा राख्ने जनाएको छ ।
शाखाले वैदेशिक रोजगार विभाग, शाखा, सफ्टवेयर ह्याङगर, ग्लोबल आईएमई बैंक, बल्र्ड लिंक र सुबिसु इन्टरनेट प्रदायक कम्पनीका इन्जिनियरको सहयोगमा अनलाइन प्रणाली विकास गरेको हो ।
फारम भर्न के–के गर्नुपर्छ ?
१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका व्यक्ति परीक्षा फारम भर्न योग्य रहेका छन । अनलाइन परीक्षा आवेदन फारम भर्न सबैभन्दा पहिले २४ अमेरिकी डलर ग्लोबल आईएमई बैंकमा जम्मा गरेको भौचर आवश्यक पर्नेछ । योसँगै पासपोर्ट नम्बर अनिर्वाय हुनेछ । बैंक भौचर र पासपोर्ट नम्बर राखेपछि मात्रै अनलाइन फारमका लागि पेज खुला हुनेछ ।
अनलाइन फारम भर्नका लागि योसँगै इमेल आईडी पनि आवश्यकपर्ने छ । परीक्षा आवेदन फारम भर्नेको प्रवेशपत्र इमेल आईडीमै आउने छ । त्यही प्रिन्ट गरेर परीक्षामा सहभागी हुन पाउने शाखाले जनाएको छ ।
कोरियाले सन् २०१९ मा कृषि क्षेत्रमा काम गराउन २ हजार ३ सय र उत्पादनमूलक क्षेत्रमा काम गराउन चार हजार ८ सय कामदार लैजान यस अघिनै निर्णय गरिसकेको छ ।
सन् २००७ मा कोरियासँग श्रम सम्झौता भएपछि अहिलेसम्म नेपालबाट रोजगारीका लागि करिब ५० हजार कोरिया पुगिसेका छन् । कोरिया जान खर्च पनि कम लाग्ने र तलब पनि एकदेखि डेढ लाखसम्म हुने हुँदा युवाको आकर्षण बढ्दो छ ।
प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार ०९:४८