१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

नेतृत्वशैलीले व्यवस्था बदलिए पनि अवस्था बदलिएनः महामन्त्री थापा

२ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताको नेतृत्वशैलीले व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेको बताउनुभएको छ ।

बौद्धिक पेशाकर्मी परिषद्ले आज आयोजना गरेको नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेतृत्वशैली बदल्नुपर्ने बताउनुभएको हो ।

“अहिले नागरिकले नेतृत्वसँग शुद्धता र योग्यता दुवै खोजेका छन्, योग्यता र शुद्धता भएको नेतृत्वले अहिलेको समस्या समाधान गर्न सक्छ,” महामन्त्री थापाले भन्नुभयो । सरकारले सेवा प्रवाह गर्न सक्नुपर्ने उल्लेख गर्दै उहाँले शिक्षक र सहकारी पीडितका समस्या समाधानमा जोड दिनुभयो ।

सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय समितिले सहकारी छानबिनसम्बन्धी प्रतिवेदन दिएको लामो समयसम्म पनि रु पाँच लाखभन्दा कम बचत गरेका सहकारी पीडितले बचत फिर्ता पाउन नसकेको बताउँदै उहाँले सेवाप्रवाह छिटो र चुस्त बनाउन पार्टीले सरकार एवं मन्त्रीहरुलाई अनुरोध गरिरहेको जानकारी दिनुभयो ।

“सरकारलाई सही निर्णय गर्नुस्, रक्षा गर्छौँ, गलत निर्णय गरे प्रतिरक्षा गर्न सक्दैनौँ भनेका छौँ, गभर्नर बिचौलियाले बनाउने होइन, प्रक्रियाबाटै बन्नुपर्छ, भन्ने धारणा राखेका छौँ,” उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १२:५९